हप्ताको चार दिन मात्र काम : उल्लेख्य सफल


२७ असार २०७८, आईतवार
4 din1625929639

काठमाडौं, २७ असार । हप्तामा केबल चार दिन मात्र काम गर्नुपर्ने नीति सम्बन्धी ट्रायलले आइसल्यान्डमा उल्लेख्य सफलता हासिल गरेको अध्ययनकर्ताहरुले बताएका छन् । यससँगै अहिले धेरै भन्दा धेरै कामदारहरुले थोरै घण्टा काम गर्ने नीति अपनाउन सुरु गरिरहेको पनि उनीहरुले बताए ।

यस ट्रायलमा २०१५ देखि १९ का बीच कर्मचारीहरुलाई उति नै मात्राको पारिश्रमिकमा छोटो समयका लागि काम गर्न लगाइएको थियो । यसमा अधिकांश कार्यालयहरुमा उत्पादकत्व सुध्रिएको या पहिले समान नै रहेको पाइएको हो । यस्तै किसिमका ट्रायल अहिले स्पेन र न्युजिल्यान्डमा पनि सञ्चालन भइरहेको छ ।

आइसल्यान्डमा यसको ट्रायल रेकजाभिक शहर काउन्सिल र सरकारले नै सञ्चालन गराएको थियो । यसमा देशभरबाट २५ हजार कर्मचारीलाई सहभागी गराइएको हो । यो परीक्षणमा प्रि–स्कुल देखि सामाजिक सेवा प्रदायक, अस्पताल लगायत विभिन्न व्यवसायहरुले भाग लिएका छन् ।

यसमा प्रायः कार्यालयले एक हप्ताको काम गर्ने समयलाई ४० घण्टाबाट घटाएर ३५ घण्टा बनाएका थिए । यो ट्रायल पश्चात् आइसल्यान्डका ८६ प्रतिशत कार्यस्थलले पहिलेकै पारिश्रमिकमा छोटो समय काम गर्ने नीतिलाई अघि बढाइरहेको खोजकर्ताहरुले बताएका छन् ।

ट्रायलमा सहभागी कर्मचारीहरुले थोरै समयसम्म काम गर्दा आफूहरुले कम स्ट्रेस महसुस गरेको र कामबाट मन हट्ने जोखिम पनि कम भएको हुँदा उनीहरु स्वास्थ्य र कार्यजीवन बीचको सन्तुलनमा सुधार आएको बताएका हुन् । साथै यसले उनीहरुलाई परिवारसँग बढी समय बिताउने मौका मिलेको र काम बाहेक आफूलाई रुची भएका अरु कुरा पनि गर्न पाएको अनि घरको कामकाज पनि पूरा गर्न सकेको रिपोर्ट गरेका छन् ।

‘रिसर्च एट अटोनोमी’ का निर्देशक विल स्ट्रन्जले भनेका छन्, ‘यो परीक्षणले सार्वजानिक क्षेत्रमा काम गर्ने दिन छोट्याउनुले सबै हिसाबमा उल्लेखनीय सफलता दिलाउने साबित गरेको छ । र यसबाट अन्य सरकारहरुले पनि धेरै पाठ सिक्न सक्छन् ।’ एल्डाका खोजकर्ता हेरल्डसन भन्छन्, ‘आइसल्यान्डमा जारी गरिएको छोटो कार्य सप्ताहले अहिलेको आधुनिक समयमा थोरै समय काम गर्दा पनि प्रगतिशील परिवर्तन सम्भव छ भन्ने स्पष्ट पारेको छ’

हल स्पेनमा कोरोना भाइरसका कारण पनि हप्तामा चार दिन मात्र काम गर्ने नीति धेरै कम्पनीहरुले अपनाइरहेका छन् । त्यस्तै न्युजिल्यान्डमा चाहिँ युनिलिभरले आफ्ना स्टाफको काम गर्ने समय पहिले भन्दा २० प्रतिशतले घटाएर पारिश्रमिक उति नै राखि ट्रायलमा सहभागी गराइरहेको छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७