आफू मजदुरीमा जानु पर्ने भएपछि अपाङ्गता भएकी छोरीलाई ‘तीन महिने सुई’


२८ असार २०७८, सोमबार
injection kccPr1vdnv

रोल्पा, २८ असार । रोल्पाकी सरला (नाम परिवर्तन) ले अपांगता भएकी आफ्नी १९ वर्षीया छोरीलाई लामो समययता परिवार नियोजनको अस्थायी साधन तीन महिने सुई लगाइदिने गरेकी छिन् । द्वन्द्वकालमा शारीरिक हिंसा समेत खेपेकी सरलाका तीनमध्ये एक छोरी मानसिक रूपले अपांगताको सिकार भएकी छन् । विपन्न परिवारकी उनी दिनभर मजदुरी गर्न गएको समयमा उमेर पुगेकी छोरी जथाभावी हिंड्न थालेपछि सावधानी अपनाउँदै उक्त सुई रोज्नु परेको बताउँछिन् ।

खराब नियत भएका पुरुषहरूको चंगुलमा परेकी छोरीको गत साल गर्भपतन गराउनु परेपछि सरलाले छोरीका लागि तीन महिने सुई विकल्पका रूपमा रोजेकी हुन् । ‘म दिनभर मजदुरी गर्न जान्छु । छोरी एक्लै यताउती हिंड्छे । पोहर कुन चाँहि पापीले छोरीमाथि जथाभाबी गरेछ । जसोतसो अस्पताल लगेर बच्चा फाल्नु पर्‍यो,’ उनी भन्छिन्, ‘दिशा, पिसाब र महिनावारी समेत स्याहार्न नसक्ने छोरीलाई मन दुःखाएर भए पनि तीन महिने सुई लगाई दिने गरेकी छु ।’

माओवादी द्वन्द्वताका २०६० सालमा सुरक्षाकर्मीबाट घरछेउमै बलात्कारमा परेकी थिइन् सरला । त्यही पीरले रक्सी पिउने भएका पति अर्को वर्ष २०६१ सालमा बितेपछि उनको जीवनमा अर्को पीडा थपियो । उपचार अभावमा आठ वर्षका छोरा समेत गुमाएकी सरला यतिबेला बस्ने ठाउँ नभएपछि माइतीको शरणमा छिन् । ‘दुई छोरी बिहे गरेर घर गइसके । छोरो सानैमा बितेको हो । आफ्नो भन्ने काही छैन । अहिले माइतीघरमा बसेकी छु ।’ कहींकतैबाट कुनै सहयोग नपाएकी सरला द्वन्द्वपीडितको तथ्यांकमा पनि अटाएकी छैनन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७