दुई पेनाल्टी बचाएका इटलीका गोलकिपर डोनारुम्बा बने युरोकपको उत्कृष्ट खेलाडी


२८ असार २०७८, सोमबार
Italy golkipper

काठमाडौं, २८ असार । इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा युरोकप २०२० को उत्कृष्ट खेलाडी बनेका छन् । इटलीलाई ५३ वर्षपछि युरोकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका डोनारुम्बा प्लेअर अफ दि टुर्नामेन्ट बनेका हुन् ।

इटलीले सोमबार इङल्याण्डमा फाइनलमा पेनाल्टीसुट आउटमा पराजित गर्दा उनले उत्कृष्ट प्रदर्शन गरे । डोनारुम्बाले दुई पेनाल्टी बचाएपछि इटलीले इङल्याण्डलाई उसैको मैदानमा ३–२ ले पराजित गरेको हो । उनले जाडोन सान्चो र बुकायो साकाको पेनाल्टी रोकेका थिए । यस्तै सेमिफाइनलमा स्पेनविरुद्ध पनि पेनाल्टी सुटआउटमा जित हात पार्दा डोनारुम्बाले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले स्पेनका अल्भारो मोराटाका पेनाल्टी बचाएका थिए ।

इटलीलाई अपराजित रहँदै च्याम्पियन बन्दा डोनारुम्बाले पनि उत्कृष्ट रहे । डोनारुम्बा युरोकपमा उत्कृष्ट खेलाडी बन्ने पहिलो गोलकिपरसमेत बने । सन् १९९६ बाट युरोकपमा उत्कृष्ट खेलाडीको अवार्ड दिन सुरु गरिएको थियो ।

समूह चरणमा इटलीले तीनवटै खेल जित्दा उनले कुनै गोल खाएनन् । त्यसपछि नकआउट चरणको चारवटै खेलमा १–१ गोल बेहोरे पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो । युरोकपमा ७१९ मिनेट खेलेका उनले ३ खेलमा क्लिनसिट राखे । यस्तै ४ गोल बहोरे । उनले कूल ९ सेभ गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७