एमालेलाई हराउन कांग्रेस भएर राजनीतिमा आउन प्रधानन्यायाधीशलाई महेश बस्नेतको चुनौती


२८ असार २०७८, सोमबार
mahesh basnet1626081116 1

काठमाडौं, २८ असार । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजनीतिको मैदानमा आउन चुनौति दिएका छन् ।

सर्वोच्चको फैसलाविरुद्ध नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले सोमबार काठमाडौंको माइतीघर मण्डलमा गरेको विरोध सभामा बोल्दै उनले न्यायलयभित्र बसेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कार्यपालिका, व्यवस्थापिका र अन्य संवैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको भन्दै खुल्ला राजनीतिका लागि मैदान आउन चुनौति दिएका हुन् ।

नेकपा एमालेले ह्वीप उल्लङघन गर्ने सांसदहरुलाई कारबाही गर्न पाउँदैन भनी आदेश दिएर प्रधानन्यायाधीश जबराले न्यायलयलाई अर्को राजनीतिक संस्था बनाएको आरोप बस्नेतले लगाएका छन् । उनले प्रधानन्यायाधीश आफू प्रधानमन्त्री बन्ने योजना साथ फैसला गरेको आरोप पनि लगाए ।

‘सर्वोच्च अदालतले आज आफूलाई कुनै पार्टीको घोषणा गर्न खोजेको हो ?’ उनले भने, ‘तपाईं एमालेको नेता बन्ने रहर छ भने एमालेमा आउनुहोस् । एमालेलाई हराउने रहर छ भने कांग्रेस प्रवेश गरेर आउनुहोस् ।’

‘नयाँ दल गठन गरेर आउने कुरा त तपाईंका बाउबाजेले नसकेको कुरा तपाईंले सक्नु हुन्न,’ उनले अघि भने । जबराले अहिले देउवालाई प्रधानमन्त्री बनाउने र विश्वासको मत नदिएर ढाल्ने, अनि ६ महिना पछाडि नयाँ स्वरुप ग्रहण गरेर आफू प्रधानमन्त्री बन्ने डिजाइनका साथ फैसला गरेको उनको आरोप छ ।

बस्नेतले भनेका छन्, ‘हामी यो फैसला स्वीकार गर्दैनौं । अब मुलुक द्वन्द्वमा प्रवेश गरेको छ ।’ ‘चोलेन्द्र शमशेरजी, जहानियाँ राणा शासन सकियो । तपाईंमा देखिएको यो जहाँनिया शैली अब नेपाली जनताले प्रतिकार गर्छन् । चुनावी सरकार बनाएर प्रधानमन्त्री बन्ने सपना देख्नुभएको छ भने तपाईंको सपना नजन्मँदै तुहिने छ ।’

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७