देउवा नेतृत्वमा संयुक्त सरकार बनाउने पाँच दलीय गठबन्धनको निर्णय


२८ असार २०७८, सोमबार
bipaxi 5 dal

काठमाडौं, २८ असार । पाँच दलीय गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा बसेको गठबन्धनको बैठकले संयुक्त सरकार बनाउने निर्णय गरेको जसपा नेता डा. बाबुराम भट्टराईले जानकारी दिएका छन् ।

‘सर्वोच्चको आदेशले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई अग्रगमनको दिशामा लैजाने काम गरेको छ । अब सर्वोच्चको फैसला अनुसार भोलि नै देउवाजीको नेतृत्वमा संयुक्त गठबन्धन सरकार बनाउने छलफल भएको छ’, भट्टराईले भने ।

गठबन्धनको बैठकले प्रारम्भमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको छ । ‘प्रारम्भमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने, गठबन्धनमा रहेका दलहरुबीच थप समीक्षा गरेर जाने, सहकार्य अझ बलियो बनाउने निर्णय भएको छ’, बैठकपछि कांग्रेस नेता बालकृष्ण खाँडले भने ।

माओवादी केन्द्रका नेता देव गुरुङले पावर सेयरिङबारे छलफल शुरु भएको बताएका छन् । ‘यो प्रक्रियामा सहभागी सबैलाई समेटेर अधिकतम सहमति कायम गरेर अगाडि बढ्ने कुरा भएको छ । पावर सेयरिङबारे शीर्ष नेताहरुबीच अझ छलफल गर्नु हुनेछ’, गुरुङले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७