सुरक्षा प्रमुख र जिल्ला प्रशासन कार्यालयलाई गृहको विशेष परिपत्र


२९ असार २०७८, मंगलवार
griha home

काठमाडौं, २९ असार । बदलिएको राजनीतिक परिस्थितिपछि गृह मन्त्रालयले देशभर उच्च सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिक सर्कुलर गर्दै गृहले सुरक्षा व्यवस्था चुस्त राख्न भनेको हो । सोमबार सर्वोच्च अदालतले संसद पुनः स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि बदलिएको राजनीतिक परिस्थितिमा गृहले यस्तो सर्कुलर गरेको हो ।

गृह सचिव महेश्वर न्यौपानेले सोमबार साँझ सचिव स्तरीय बैठक राखेका थिए । सोही बैठकबाट निर्णय गरेर देशभर उच्च सुरक्षा सतर्कता अपनाउन र त्यसका लागि विशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिइएको हो ।

गृह मन्त्रालयले यसका लागि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई एकीकृत सुरक्षा योजना बनाएर लागू गर्न पनि निर्देशन दिएको छ । अदालतको आदेशपछि त्यसको समर्थन र विरोधमा सडकमा प्रदर्शन हुनसक्ने भएपछि यस्तो सर्कुलर गरिएको गृह मन्त्रालयले जनाएको छ । गृहले सर्वोच्च अदालत आसपासका क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारेको छ ।

सर्वोच्चको आदेशपछि प्रधानमन्त्री केपी ओली पक्षका नेता कार्यकर्ताले सोमबार राजधानीका विभिन्न ठाउँमा बिरोध प्रदर्शन गर्दै प्रधानन्यायाधीशको समेत पुत्ला जलाएका छन् । विपक्षी गठबन्धनको तर्फबाट भने देशका विभिन्न ठाउँमा सर्वोच्चको निर्णको समर्थनमा जुलुस र दीपावली गरिएको छ ।

‘प्रतिनिधिसभा विघटनसम्बन्ध सम्मानित सर्वोच्च अदालतको फैसलापश्चात विकसित राष्ट्रिय राजनीतिक घटनाक्रमलाई मध्यनजर गरी शान्ति सुरक्षाको दृष्टिकोणले आगामी दिनमा हुनसक्ने गतिविधि र सोको परिणामको पूर्व आँकलन तथा विश्लेषण गरी सुरक्षा जोखिमको विश्लेषणसहित एकीकृत सुरक्षा योजना अनुसार भरपर्दो सुरक्षा बस्दोबस्ती मिलाउन निरन्तर जिल्ला सुरक्षा समितिको बैठक राख्ने’ गृहले सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुलाई पठाएको आन्तरिक परिपत्रमा भनिएको छ, ‘प्रमुख जिल्ला अधिकारीले जिल्ला स्थित विभिन्न दल तथा तीनका भ्रातृसंघसंगठनबाट हुनसक्ने कार्यक्रम तथा प्रदर्शनको पूर्वजानकारी लिने, जिल्लास्थित सुरक्षा निकायहरुलाई प्रभावकारी परिचालन गर्ने र समन्वय सुदृढ बनाउने ।’ गृहको परिपत्र सोमबार साँझै सबै जिल्ला प्रशासन कार्यालयमा पुगिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७