सिर्जना बस्नेत मृत्यु प्रकरण : हत्याको आशंका


२९ असार २०७८, मंगलवार

झापा, २९ असार । आफू बस्ने डेरा अगाडि सोमबार बिहान अर्धनग्न अवस्थामा फेला परेकी सिर्जना बस्नेतको हत्या भएको आशंका गरिएको छ । घरका सबै गेट भित्रैबाट लक गरिएको अवस्थामा सिर्जनाको शव घर बाहिर फेला पर्नुले उनको हत्या गरिएको आशंका गरिएको हो ।

आइतबार बेलुका करिब आठ बजेसम्म घरमा भएकी सिर्जना सोमबार बिहान घर अगाडि मृत फेला परेको उनका दाजु रमेश बस्नेतले जानकारी दिएका छन् । चारतले घरको दोस्रो तलामा परिवारसँगै बस्ने सिर्जना चौथो तलामा सुत्ने गरेको उनको भनाइ छ ।
बहिनीको शव घर बाहिर फेला परे पनि घरको सबै गेटहरू भित्रबाट बन्द भएकाले बहिनीको हत्या भएको हुन सक्ने रमेशले आशंका गरे ।

शवको पछाडिको भाग तथा टाउकोमा चोट र घटनास्थलमा रगतको दाग देखिएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । प्रहरीले घटनाको सत्यतथ्य अनुसन्धान गर्न भन्दै धरानबाट ‘ट्रयाकर डग’ झिकाएको थियो । उक्त कुकुर मृतक बस्ने घरको तेस्रो तलाको बरण्डासम्म पुगेर फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

उनका अनुसार बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक डाक्टरको समूहले घटनास्थलमा शवको बाहिरी परीक्षण गरेको थियो । पोस्टमार्टमका लागि शव धरान पठाइएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्यले जानकारी दिए । हालसम्म कसैलाई पक्राउ नगरिएको उनले बताए ।

प्रहरीले प्रारम्भिक कुनै जानकारीसम्म नदिएको भन्दै मृतकका आफन्त तथा स्थानीयले शव उठाउन अवरोध गरेपछि केहि समय घटनास्थलमा तनाव सिर्जना भएको थियो । प्रहरीले घटनास्थलमा ढुङ्गा हान्ने केही युवालाई पक्राउ गरेको जनाएको छ । प्रवक्ता थापाका अनुसार घटनाको इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको छ ।

इलामको साखेजुङ्ग मुल घर भएकी मृतक बस्नेत आफ्नी आमा तथा दाजुको परिवारसँग केही बर्षदेखि बिर्तामोड–५ स्थित सानिमाको घरमा भाडामा बस्दै आएकी थिइन् । उक्त घरमा प्रायः पारिवारिक नाता पर्ने मानिसहरु नै बस्ने गरेको प्रहरीको भनाइ छ ।

उनी २०७० सालदेखि स्थानीय ग्लोबल सहकारी संस्थामा बजार प्रतिनिधिको रुपमा काम गर्दै आएकी थिइन् । पछिल्लो समय ग्लोबल मर्ज भएर सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाको नामबाट कारोबार गरिरहेको व्यवस्थापक कुमार अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७