एमाले सांसदको नाराबाजीकै बीच गण्डकीमा बजेट पारित


३० असार २०७८, बुधबार
gandaki pradesh 20210714110358

पोखरा, ३० असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको विरोध, नाराबाजी र सदन बहिष्कारका बीच गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेट पारित गरेको छ । प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि प्रतिपक्षी सांसदले वेल घेराउ गरेका थिए ।

प्रतिपक्षी दलले विभिन्न १० बुँदे माग अघि सारेका थिए । बजेटमा समावेश नगरिएको भन्दै लगातार संसद बैठक अवरुद्ध गर्दै आएका थिए । आजै मात्र चार पटक संसद् बैठक अवरुद्ध गरेका थिए । वेल घेराउ गरेका प्रतिपक्षी सांसदलाई सभामुखले मार्सल लगाएका थिए । मर्यादापालक प्रहरी र प्रतिपक्ष सांसद ठेलाठेल समेत भएको थियो । आफूहरुको विरोधका बाबजुद पनि सदन अगाडि बढाउन लागेपछि एमालेले सदन बहिष्कार गरेको थियो ।

प्रतिपक्ष बाहिरिएपछि सभामुखले सत्तापक्षका सांसदलाई बजेटमाथिको छलफलमा बोल्न दिई रीत पु¥याउँदै बजेट पारितको प्रस्ताव राख्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मौका दिएका थिए ।

अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका पोखरेलले विनियोजन विधेयकलगायत विधेयक पारित गर्न राखेको प्रस्ताव सत्ता पक्षका बहुमत सांसदले पारित गरेका थिए । पोखरेलले १ असारमा ३० अर्बको बजेट ल्याएका थिए ।

प्रतिपक्ष बिना संसद चलाइएको गण्डकीमा यो पहिलोपल्ट हो । संसदीय पद्दतिमा प्रतिपक्ष बिना सदन चलाउने परम्परा छैन । माओवादी केन्द्रबाट निर्वाचित सभामुखले भने त्यसको ख्यालै नगरी सदन अगाडि बढाएर कांग्रेस र माओवादीलगायतको साझेदारी सत्ताका लागि उनले सजिलो बनाई दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७