प्रतिनिधिसभा पुनर्स्थापना : स्वीकृत निर्वाचन कार्यतालिका रद्द


३१ असार २०७८, बिहीबार
Nirwachab aayog election commision Nirbachan

काठमाडौं, ३१ असार । निर्वाचन आयोगले सर्वोच्च अदालतबाट यही असार २८ भएको आदेशानुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द गरेको छ । अदालतको आदेशानुसार आगामी कात्तिक २६ र मंसिर ३ गते हुने प्रतिनिधिसभाका लागि आयोगबाट असार २१ गते स्वीकृत निर्वाचन कार्यतालिका रद्द भएको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका बनाएको हो । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न असार ३१ गतेदेखि साउन १५ गतेसम्मको समय दिने तयारी थियो । पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमा २० र २१ गते उम्मेदवारी मनोनयन गर्ने तालिका छ भने दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा असोज ३१ गते र कार्तिक १ गते उम्मेदवारी मनोनयनको तालिका बनाइएको थियो ।

पहिलो चरणका उम्मेदवारहरुको अन्तिम नामावली र चुनाव चिन्ह असोज २५ गते र दोस्रो चरणका लागि कात्तिक ७ गते उम्मेदवारहरुको अन्तिम नामावली र चुनाव चिन्ह दिने तयारी आयोगले गरेको थियो। सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि सात अर्ब ७२ करोड ६३ लाख बराबरको बजेट उपलब्ध गराएको थियो ।

केपी ओली सरकारले प्रतिनिधिसभा विघटन गरी दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेकामा सर्वोच्च अदालतले त्यसलाई बदर गरी आगामी साउन ३ गतेभित्र प्रतिनिधिसभा बोलाउन आदेश जारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार आफूसहित ५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । सर्वोच्च अदालतले सोमबार देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । सोहीअनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

नव नियुक्त प्रधानमन्त्री देउवाले मंगलबारै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिए। सोही अवसरमा राष्ट्रपतिसमक्ष नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले शपथ लिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७