अपहरणपछि बेपत्ता छोरा २४ वर्षपछि भेटिएपछि …


३१ असार २०७८, बिहीबार
when you meet your kidnapped son after 24 years1626315547

काठमाडौं, ३१ असार । चीनका एक व्यक्तिले २४ वर्ष अघि अपहरणमा परेका आफ्ना छोरा फेला पारेका छन् । ती छोरालाई खोज्नकै लागि उनले देशैभरि मोटरसाइकलमा ५ लाख किलोमिटर यात्रा गरेका थिए । उनका तिनै संघर्षहरु समेटेर २०१५ मा फिल्म, ‘लस्ट एण्ड लभ’ निर्माण गरिएको थियो, जसमा हङकङका सुपरस्टार एन्डि लाउले अभिनय गरेका छन् ।

गुओ गाङताङका छोरालाई १९९७ मा दुई वर्षको उमेरमा मानव तस्करहरुले शान्तदोङ प्रदेशस्थित उनीहरुको घरै अगाडिबाट अपहरण गरेर लगेका थिए । छोरा हराएपछि गुओले २० वटा भन्दा धेरै प्रदेशहरुमा मोटरसाइकलमार्फत यात्रा गर्दै सबैतिर तीव्र खोजी गरेका थिए । यस क्रममा दुर्घटनामा पर्दा उनको शरीरका कति हड्डी भाँचिए भने उनले कतिपटक लुटेराहरुको समेत सामना गर्नुपरेको थियो । सो यात्रामा उनका दशवटा मोटरसाइकल बिग्रिए ।

छोरालाई खोज्ने यस मिसनमा उनले आफ्नो जीवनभर बचत गरेको सबै पैसा खर्च गरेका थिए । र, हरेक समय तिनको तस्बिर भएको ब्यानर बोकेर हिँड्ने गर्दथे । पैसा नहुँदा कति समय त उनले सडक छेउमा र पुलमुनि बसि भिख मागेर समेत गुजारा गर्नुपरेको थियो । यसरी बालबालिकाको अपहरण चीनमा धेरै ठूलो समस्या रहेको छ । हरेक वर्ष त्यहाँ हजारौं अपहरणमा पर्ने गरेका छन् ।

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार पुलिसले डीएनए टेस्टमार्फत गुओका छोरा पत्ता लगाएका हुन् । यससँगै अपहरणमा संलग्न दुई अभियुक्तलाई पनि पक्राउ गरिएको ग्लोबल टाइम्स रिपोर्टले जनाएको छ । उक्त जोडी त्यस समयमा प्रेम सम्बन्धमा रहेको र ती बालकलाई बेचेर पैसा कमाउने उद्देश्यले अपहरण गरेको रिपोर्टमा उल्लेख छ ।

गुओका छोरा घर बाहिर एक्लै खेलिरहेको देखेपछि त्यही मौकामा उनलाई महिला तस्करले जबरजस्ती समातेर बस स्टेसनसम्म आफ्नो पार्टनरकहाँ पु¥याएको र छिमेकी हेनान प्रान्तमा लगेर बेचेको बताइएको छ । स्थानीय मिडियाका अनुसार गुओका छोरा अझैसम्म पनि त्यही प्रदेशमा बसिरहेका थिए । र, त्यहीं फेला परेका हुन् ।

यसरी २४ वर्षको लामो पर्खाइपछि छोरालाई भेट्दा गुओ र उनकी पत्नी भावुक हुँदै रुँदै छोरालाई अंकमाल गरेका हुन् । उनीहरुको मिलापको भिडियो यतिबेला सामाजिक सञ्जालमा फैलिरहेको छ ।

यसमा आमाले रुँदै भनेकी छन्, ‘मेरो छोरा तिमी बल्ल आयौ ।’ गुओले पनि सञ्चारकर्मीहरुसँग बोल्दै छोरा फिर्ता पाएपछि जीवनमा अब खुशी र सुखै सुख मात्र हुने बताएका छन् । फिल्म ‘लस्ट एण्ड लभ’ मा हराएका छोराको अभिनय गरेका लाउले पनि गुओको परिवारलाई बधाइ दिएका छन् । उनले आफूले गुओको दृढताको सधैँ आदर गरिरहने बताएका छन् ।

यसरी चीनमा बच्चाहरुको अपहरण दशकौँदेखि गम्भीर समस्या मानिदै आएको छ । २०१५ को रिपोर्ट अनुसार हरेक वर्ष त्यहाँ २० हजार भन्दा धेरै बालबालिका अपहरणमा पर्छन् । अधिकांशलाई मानव तस्करहरुले विदेशमा या स्वदेशमै बेच्ने गर्दछन् । गुओका जस्ता हजारौँ घटना अझै सुल्झाउन सकिएको छैन । यस किसिमका अपहरणमा आफ्नै चिनेजानेका आफन्त, छिमेक र साथीभाइहरु संलग्न हुनुले पनि यो समस्या समाजमा अत्यन्तै पीडादायी बन्न पुगेको छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७