कर्णाली प्रदेश सभा अधिवेशन मध्यराति अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी


३१ असार २०७८, बिहीबार
karnali wYuZGsMQrD

सुर्खेत, ३१ असार । कर्णाली प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले गए राति १२ बजेदेखि चालु आठौं अधिवेशन अन्त्य गरेका हुन् ।

नेकपा एमालेका सांसदहरूले प्रदेशसभा बैठक लगातार अवरूद्ध गरेपछि चालु अधिवेशन अन्त्य गरिएको हो । पछिल्लो एक महिनायता प्रमुख विपक्षी दल एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा सञ्चालन हुन सकेको थिएन । जसले गर्दा प्रदेश सरकारले असार १ गते प्रदेश सभामा पेस गरेको बजेटमा छलफल नै हुन पाएन ।

एमालेको अवरोधकै कारण प्रदेशसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित हुन नसक्ने भएपछि प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ । ‘संसदमा सहमतिका थुप्रै प्रयास गरियो, तर सहमति जुट्न सकेन् । जसरी पनि बजेट असफल गराउने डिजाइन देखिएपछि प्रदेशसभा अधिवेशन अन्त्य गर्नुपरेको हो, अब बजेट अध्यादेशबाट ल्याउँछौं,’ एक मन्त्रीले भने ।

ती मन्त्रीका अनुसार अब सरकारसामु अध्यादेशबाट पेस्की बजेट वा पूर्ण बजेट ल्याउने दुई वटा विकल्प छन् । पेस्की बजेटको आकार चालु आर्थिक वर्षको बजेटको एक तिहाइ मात्र हुने भएकाले अध्यादेशबाट पूर्ण बजेट ल्याउने सरकारको तयारी छ । अध्यादेशमार्फत सरकारले संसदमा प्रस्तुत गरेको ३६ अर्ब ५४ करोडकै बजेट ल्याउन सक्छ ।

karnali pradesh savha

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७