बीपी प्रतिष्ठानको आन्दोलनप्रति डा.भट्टराईको समर्थन, जायज माग सम्बोधन गर्न आग्रह


३१ असार २०७८, बिहीबार

काठमाडौं, ३१ असार । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम पूर्व प्रधानमन्त्री तथा डा.बाबुराम भट्टराईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनप्रति समर्थन जनाउँदै जायज माग सम्बोधन गर्न आग्रह गरेका छन् ।

डा.भट्टराईले ‘नेपालकै सबैभन्दा ठूलो र चिकित्सा क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय साख राख्न सफल यो प्रतिष्ठान, सरकारको र सत्तारुढ पार्टीको अनावश्यक हस्तक्षेप र असक्षम पदाधिकारीहरुको नियुक्तिको कारण दिनानु दिन अधोगतितिर गएको भन्दै दुःख पनि व्यक्त गरेका छन् ।

विहीबार एक सार्वजनिक अपिल निकाल्दै निवर्तमान सरकारले जारी अभियानलाई चिकित्सा शिक्षा क्षेत्रको विकृति र विसंगतिको अन्त्य गर्ने अवसरको रुपमा सम्बोधन गर्नुपर्नेमा धरपकडको नीति लिएर गैरजिम्मेवार बनेको भट्टराईको आरोप छ ।

उनले अपिलमा भनेका छन्, ‘विश्वविद्यालयहरु, प्रतिष्ठानहरु तथा अन्य प्राज्ञिक क्षेत्रमा हुने प्रत्येक नियुक्तिहरु स्थापित मापदण्डका अनुरुप तथा कार्यक्षेत्र र कार्य प्रकृतिको मर्यादा कायम गर्ने हैसियतका हुनुपर्छ भन्ने हाम्रो सदैव अडान रहेको छ । यसअनुरुपको नेतृत्वले मात्र संस्थालाई सही दिशामा हाँक्न सक्दछ भन्ने हाम्रो विश्वास छ ।’

प्रतिष्ठानमा पदाधिकारी नियुक्तिलाई राजनीतिक हस्तक्षेप मुक्त राख्दै प्राज्ञिक मर्यादा कायम गर्नुपर्ने मागसहित प्रतिष्ठानका शिक्षक, कर्मचारी तथा नागरिक अगुवाहरु समेतले ‘प्रतिष्ठान शुद्धीकरण अभियान’ सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७