एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल पक्ष नजाने


१ श्रावण २०७८, शुक्रबार
kp oli madhav nepal
फाइल फोटो

काठमाडौं, १ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (शुक्रबार) बोलाएको स्थायी कमिटी बैठक बस्दैछ । संसद पुनः स्थापनासँग पार्टीभित्रको कटुता थप बढिरहेकै बेला अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले शुक्रबार ११ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठकमा आउन माधव नेपाल पक्षका नेताहरुलाई समेत खबर गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । उनका अनुसार बैठक ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने छ । तर असन्तुष्ट माधव पक्षका नेताहरुले एक पक्षीय ढङ्गले बोलाएको बैठकमा सहभागी हुने सम्भावना बताएका छन् ।

‘पार्टीभित्र तिक्तता बढेको छ । पहिला अध्यक्ष र वरिष्ठ नेता भेटवार्ता गरेर मात्रै बैठक बोलाउने भनिएकोमा सल्लाह नै नगरी बोलाएको बैठकमा हाम्रो समूह सहभागी हुने सम्भावना छैन’, एमाले उपाध्यक्ष समेत रहेका माधव पक्षका नेता युवराज ज्ञवालीले भने ।

यसअघि गत असार २७ गते एमाले विवाद समाधान गर्न गठित कार्यदलले एमाले एकतासम्बन्धी १० बुँदे सहमतिको खाका अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको थियो । कार्यदलले स्थायी कमिटी बैठक बोलाउनुअघि अध्यक्ष ओली र नेपालबीच भेटवार्ता गरेर सहमतिमा बैठक बोलाउन सुझाव दिएको थियो । तर, कार्यदलको सुझाव र एकताको भावना विपरीत अध्यक्ष ओलीले असार २८ गते सर्वोच्चको फैसलापछि वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘गद्दार’ भन्दै आरोप लगाएका छन् ।

उनले माधव नेकपालाई अब एमालेमा कुनै ठाउँ नभएको बताएका छन् । यसले एमाले एकता थप पेचिलो बन्दै गएको छ । एमालेको एकता जटिल बन्दै गइरहेको अवस्थामा दोस्रो तहका नेताहरुले भने सक्रियता बढाएका छन् । उनीहरुले टुटेको संवाद अघि बढाउन सक्रियता देखाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७