आज कांग्रेस पदाधिकारी बैठक बस्दै, मन्त्री चयन र महाधिवेशन मुख्य एजेण्डा


१ श्रावण २०७८, शुक्रबार
Congress Padadhikari meeting

काठमाडौं, १ साउन । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (शुक्रबार) बस्दैछ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । हिजो बस्ने भनिएको बैठक आज बस्न लागेको हो ।

पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी छ । कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनि बाँकी मन्त्रीमा क–कसलाई पठाउने भन्ने निर्णय हुन बाँकी छ ।

मन्त्री बन्ने आकांक्षीहरु धेरै भएपछि नाम टुङ्गो लगाउन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सकस पर्ने देखिएको छ । देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफलबाटै क–कसलाई मन्त्री बनाउने टुंगो लगाउने बचन दिएका थिए ।

सबै पक्षलाई समेटेर मन्त्री बनाउनु पर्ने भएकाले यसमा सबैलाई चित्त बुझाएर निष्कर्षमा पुग्न उनलाई सहज छैन । यस्तै पदाधिकारी बैठकमा पार्टीको आसन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे छलफल गर्ने कार्यसूची छ । कांग्रेसले भदौ १६–१९ गतेसम्म महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७