बाल विवाहमा आएन कमी, सबैभन्दा बढी धादिङमा


१ श्रावण २०७८, शुक्रबार
bihe
सांकेतिक तस्वीर

बागमती, १ साउन । कोभिड–१९ को असहज परिस्थितिका कारण नेपालमा भएको बन्दाबन्दी होस् या निषेधाज्ञा सो समयावधिमा समेत बालविवाहका घटनामा खासै कमी नआएको तथ्याङ्कले देखाएको छ ।

वाग्मती प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो एक वर्ष अवधिमा बालविवाहको संख्यामा खासै कमी नआएको पाइएको हो । यता कम उमेरमा आमा भएका तथ्याङ्कले पनि बालविवाहका घटनामा उल्लेखनीय सुधार नआएको संकेत गरिरहेको पाइन्छ ।

मन्त्रालयका अनुसार वाग्मती प्रदेशका विभिन्न जिल्लामध्ये सबैभन्दा बढी बालविवाह हुनेमा मकवानपुर जिल्ला पाँचौं स्थानमा छ । सबैभन्दा बढी धादिङमा ६२.९ प्रतिशत बालविवाह भएको पाइएको छ । त्यसपछि क्रमशः नुवाकोट, सिन्धुली, सिन्धुपाल्चोक, र मकवानपुरमा बालविवाह भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । वाग्मती प्रदेशकै काठमाडौंमा भने सबैभन्दा कम ३९.११ प्रतिशत बालविवाह भएको उल्लेख छ । बालविवाह मात्र होइन, किशोरी अवस्थामै आमा बन्नेको संख्या पनि उत्तिकै छ ।

२० वर्ष नपुग्दै विवाह गर्न नपाइने कानुनी व्यवस्था भए पनि पछिल्लो कोरोनाको असहज स्थितिमा समेत बालविवाह घटनामा खासै कमी आउन सकेको छैन । सबै क्षेत्रमा प्रभावकारीरूपमा जनचेतना पुग्न नसक्दा अपेक्षाअनुसार बालविवाहका घटनामा कमी आउन नसकेको सरोकारवालाको निष्कर्ष छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७