लुम्बिनी प्रदेशले पनि अध्यादेशबाट ल्यायो बजेट


१ श्रावण २०७८, शुक्रबार
Shankar Pokharel शंकर पोखरेल

रुपन्देही, १ साउन । लुम्बिनी प्रदेश सरकारले पनि अध्यादेशबाट बजेट ल्याएको छ । प्रदेश सभा बैठकबाट बजेट पास गर्न नसकेपछि बिहीबार मध्यरातमा अधिवेशन अन्त्य गराएको लुम्बिनी प्रदेश सरकारले शुक्रबार अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले अर्थ र विनियोजन अध्यादेश जारी गरेका हुन् ।
‘असार १ गते प्रदेश सभामा पेश गरेको बजेट जस्ताको तस्तै अध्यादेशमार्फत ल्याइएको छ,’ प्रवक्ता चौधरीले भने । किन अध्यादेशबाट बजेट ल्याउनु प¥यो भन्ने प्रष्टाउन आज दिउँसो बजे पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी पनि उनले दिए ।

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रदेश सभामा पेश गरेको थियो । जसमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । बजेटको धेरै हिस्सा स्वास्थ्य, कृषि र पर्यटन केन्द्रित छ । तर बजेट पारित गर्न सरकारसँग बहुमत नपुगेपछि बिहीबार (हिजो) सत्ता पक्षले नै प्रदेश सभा बैठक बहिस्कार गरेर हिंडेको थियो ।

एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले सहमतिमा बजेट पारित गर्न समय माग गरे अनुसार सभामुखले शुरुमा आधा घण्टा र पछि साउन २ गते १ बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका थिए । तर सरकारले मध्यराति नै चालु अधिवेशन अन्त्य गराएको थियो ।
प्रकृयामा गइसकेको बजेटलाई बिचैमा अलपत्र पारेर अल्पमतको सरकारले अध्यादेशबाट बजेट ल्याए सशक्त प्रतिवाद गर्ने घोषणा विपक्षी दलहरुले हिजो नै पत्रकार सम्मेलनमार्फत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७