प्रदेश–२ सरकारमा माओवादी केन्द्र पनि सामेल, दुई मन्त्रीले लिए शपथ


२ श्रावण २०७८, शनिबार
adjkamgkdmg1626520345

जनकपुरधाम, २ साउन । प्रदेश–२ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । प्रदेश नम्बर–२ मा नेकपा माओवादी केन्द्रबाट दुई प्रदेशसभा सदस्यले मन्त्री पदको शपथ लिएका छन् ।

आज (शनिबार) प्रदेश प्रमुख डा. राजेश झा अहिराजले भरत साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्री र मुख्यमन्त्री लालबाबु राउतले रूवी कर्णलाई राज्यमन्त्रीको शपथ खुवाएका हुन् । साह महोत्तरी क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित सांसद हुन् । कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् ।

kafmkdmg

मन्त्री साहले कसैको नाम नलिई शपथ खाए भने राज्यमन्त्री कर्णले शहीदको नाममा शपथ लिइन् । मातृभाषामा शपथग्रहण गर्न इच्छा देखाए पनि कानुनी जटिलताका कारण नेपाली भाषामै शपथ लिएका थिए । माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सत्तारुढ दलकै दुई मन्त्रीले राजीनामा दिएका थिए । आन्तिरक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवहाले शुक्रबार राजीनामा बुझाएका हुन् । शनिबारै मुख्यमन्त्री लालबाबु राउतले उनीहरुको राजीनामा स्वीकृत गरेका थिए ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकासमन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गएको जेठ २६ गते नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराइएको थियो । सोही दिन माओवादी केन्द्रलाई पनि सहभागी गराउने प्रयत्न गरिएको थियो । तर, मन्त्रालय बाँडफाँडमा कुरा मिलेको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७