सलमानले नेपाल आउन लिएको पाँच करोड के हुन्छ अब ?


१८ फाल्गुन २०७४, शुक्रबार
salman

काठमाण्डौं, १८ फागुन : नेत्रविक्रम चन्द (विप्लव) माओवादीको चेतावनीका कारण सलमान खानको शो स्थगित भएको छ । तर, उक्त शोका लागि सलमान र उनको टिमका सबैले पारिश्रमिक अग्रिम लिइसकेको पाइएको छ ।salman

सलमानको टिमलाई बैंकमार्फत पाँच करोड रुपैयाँ पठाई सकिएकाले ढिलो–चाँडो कार्यक्रम गर्नैपर्ने दवाव आयोजकलाई छ । टिममा रहेका ११० जनालाई उनीहरुकै खातामा पैसा पठाएको आयोजक स्रोतले जानकारी दिएको छ । त्यसैले यदि ओडीसी इन्टरनेशनलले भविष्यमा यो कार्यक्रम गर्न सकेन भने उसको पाँच करोड फिर्ता ल्याउन कठिन हुनेछ ।
ओडीसी इन्टरनेशनलका प्रमुख सीमान्त गुरुङ भन्छन् ‘अहिलेको स्थितिलाई मध्यनजर गरेर कार्यक्रम स्थगित गरिएको हो, तर हामी चाँडै नयाँ मिति तय गर्छौं । हामी शान्तिपूर्ण माहोलमा कार्यक्रम गर्न चाहन्छौं ।’ यस विषयमा सलमान खानले आजै बेलुकी विज्ञप्ति जारी गर्न सक्ने उनले बताएका छन् ।

देशमा एउटा विदेशी सेलिब्रिटी आएर प्रस्तुति दिने कुरालाई नकारात्मक रुपमा नलिई दिन गुरुङले आग्रह गरे । सलमान खान दवङ्ग टुर लिएर नेपाल आउन लागेका हुन् । तत्कालिक परिस्थितिमा कुनै अवरोध आए केही समयका लागि स्थगित गर्न सकिने ओडीसीले सोहेल खान प्रोडक्सनसँग गरेको सम्झौतामा उल्लेख छ । तर सँधैका लागि रद्द गर्न सकिने विषयमा केही उल्लेख छैन । ‘हाम्रो देशका कलाकारहरु पनि विभिन्न देशमा गएर प्रस्तुति दिनुहुन्छ, त्यसैगरी विदेशबाट पनि कलाकारहरु यहाँ आउनुलाई अन्यथा लिन मिल्दैन,’ उनले भने ।

२६ गते हुने भनिएको शोका लागि अहिलेसम्म करीब ५ हजार टिकट बिक्री भइसकेका छन् । निकट भविष्यमै शो आयोजना हुने र यही टिकटबाट हेर्न सकिने गुरुङ बताउँछन् । तर, कुनै कारणबस पछि कार्यक्रममा उपस्थित हुन सक्दैनौं भन्नेहरुले पैसा फिर्ता लैजान सक्ने पनि उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७