प्रधानमन्त्री देउवाले पाए विश्वासको मत


३ श्रावण २०७८, आईतवार
pm Sherbahadur deuwa scaled

काठमाडौं, ३ साउन । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन् । आज (आइतवार) को प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६३ मत पाएका हुन् ।

कांग्रेस सांसद गगन थापाले पनि देउवाले १६३ मत पाएको जानकारी दिएका छन् । देउवालाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले मत दिएका छन् ।

एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका जसपाका महन्थ ठाकुर पक्षका सांसदहरुले समेत साथ दिएपछि उनले सजिलै विश्वासको मत प्राप्त गरेका हुन् । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

पाँच दलीय गठबन्धनका माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्षको समर्थन पाएपछि देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने निर्णय गरेका थिए ।

विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल सरकार चलाउने छन् । अब प्रतिनिधिसभाको कार्यकाल करिब डेढ वर्ष बाँकी रहेको छ । यो समय गुजारेपछि देउवाले आगामी प्रतिनिधिसभाको निर्वाचन गराएर विदा हुने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७