ट्रयाक परीक्षण सकियो, रेल सञ्चालनको टुंगो छैन


४ श्रावण २०७८, सोमबार
rail

जनकपुरधाम, ४ साउन । प्रतिघण्टा १२० किमि गतिमा रेल गुड्ने खबरले आइतबार बिहानैदेखि जयनगर–जनकपुर–कुर्था खण्डमा मानिसको भीड लाग्यो । रेलवे ट्रयाकका दुवै छेउमा लागेको भीड व्यवस्थित गर्न सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे पर्‍यो ।

रेलवे ट्रयाकबाट हिँडडुल रोकियो । रेलवे क्रसिङमा अटेरी गर्नेलाई भने सुरक्षाकर्मीले हप्काइरहे । भारतको इस्ट सेन्ट्रल रेलवेको डिजल लोकोमोटिभले आइतबार दिउँसो १२० किमि प्रतिघण्टाको गतिमा कुदाएर रेलवे ट्रयाकको गति परीक्षण गरेको छ ।

रेलको ट्रयाक निर्माण सकिएको दुई वर्षपछि गति परीक्षण गरिएको हो । सीमावर्ती रेलवे स्टेसन जयनगरबाट भारतीय रेलको वातानुकूलित निरीक्षण यानले धनुषाको कुर्थासम्म ३५ किलोमिटर रेलवे ट्रयाकको गति जाँचेको हो । भारतको यो रेल ट्रयाकको गति जाँच्न प्रयोग गरिन्छ । इन्जिनसँगै रहेको रेलको एउटा कोचमा नेपाल र भारत रेलवेका अधिकारी, प्राविधिक र सुरक्षाकर्मी चढेका थिए ।

जगनगरबाट जनकपुर हुँदै कुर्थासम्म प्रतिघण्टा ४०–५० किमिको गतिमा कुदेको रेल भने कुर्थाबाट जयनगर फर्किंदा प्रतिघण्टा करिब १२० किमिकै गतिमा रहेको जनकपुर रेलवेका प्रमुख इन्जिनियर विनोद ओझाले जानकारी दिए । ‘सामान्य गतिमा ट्रयाकको परीक्षण गरिएपछि फर्किंदा रफ्तार प्रतिघण्टा १२० किमिकै गतिमा थियो,’ इन्जिनियर ओझाले भने, ‘ट्रयाक जाँचसँगै अब रेल सेवा सञ्चालनमा ल्याउने सबै तयारी सकिएको छ ।’

गति परीक्षण गर्दा रेलवे ट्रयाकमा समस्या नदेखिएको नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताए । ‘रेलवे क्रसिङका दुई ठाउँमा जंक (लच्किने) महसुस गरियो,’ उनले भने, ‘त्यसलाई मर्मत सम्भार गरिनेछ ।’ रेलवे ट्रयाकको गति परीक्षण गर्नुका दुई कारण छन् । पहिलो, ट्रयाकमा रेल कुदाउन सुरक्षित छ कि छैन जाँच्न र दोस्रो, ट्रयाक निर्माण गरेका भारतीय कम्पनीलाई ‘सबै ठीक छ’ भनेर सर्टिफिकेट दिन । आइतबारको परीक्षणबाट ट्रयाक रेल कुदाउन सुरक्षित देखिएको महाप्रबन्धक भट्टराईले जानकारी दिए ।

‘नेपालको रेलवे संरचना नयाँ भएकाले सुरक्षित छ कि छैन, ट्रयाकको अवस्था के छ भनेर जाँचिएको हो,’ भट्टराईले भने, ‘क्रसिङमा समस्या छ कि छैन ? जंक हुन्छ कि हुन्न भनेर पनि हेरियो । क्रसिङमा एक–दुई ठाउँ सामान्य समस्या बाहेक सबै ठीक देखियो ।’ जगनगरदेखि कुर्थासम्मको रेलवे लिकका दुई ठाउँको क्रसिङमा रेल तलमाथि कुदेको थियो । समस्या देखिएका ठाउँमा तत्काल ‘रिपेयरिङ’ गरिने भट्टराईले बताए । ‘रेल सेवा सञ्चालन हुने गतिभन्दा दुई गुणा बढी गतिमा रेल कुदाएर ट्रयाक जाँचिएको छ । अब यात्रुवाहक रेल कुदाउन समस्या छैन ।’

नेपाल रेलवेको ट्रयाक परीक्षण गर्नुअघि शनिबार दिनभर त्यसको मर्मत सम्भार गरिएको थियो । भारतीय प्राविधिकले फलामको ट्रयाकमा खिया नलागोस् भनेर डोजरको अगाडिको भाग ट्रयाकमा थिचेर घसारेका थिए । रेलवे क्रसिङमा सवारीसाधन आवतजावत गर्न ट्रयाकको बीचमा हालिएको माटो र पार्किङ टायल्स समेत मिलाइएको थियो ।

भारत सरकारले जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरमा निर्माण गरिएको ब्रोडगेज लिक तयार भएको दुई वर्ष भइसक्यो । भारत सरकारकै सहयोगमा कुर्थादेखि बर्दिवाससम्म ब्रोडगेज लिंक निर्माण जारी छ । रेल सञ्चालनअघिको तयारीका क्रममा रेलवे ट्यांकको स्पिड टेस्ट र सर्टिफिकेसनको काम गरिएको भट्टराईले बताए । रेलवे कम्पनीले आइतबार नागरिकलाई रेलवे ट्रयाक वरपर नजान, गाईभैंसी चौपाया, साइकल, मोटरसाइकल, बालबालिका नछाड्न र ट्रयाकबाट दूरी कायम गरिदिन अनुरोध गरेको थियो ।

भारत सरकारको लगानीमा जयनगरदेखि बर्दिवाससम्म ७२ किमि रेलवेको ब्रोडगेज ट्रयाक निर्माण भइरहेको छ । त्यसमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किमि तयारी अवस्थामा छ । कुर्थादेखि बिजलपुरासम्म ट्रयाक ओछ्याउने काम जारी छ । बिजलपुरादेखि बर्दिवाससम्म भने जग्गा अधिग्रहण विवादले निर्माणमा ढिलाइ छ ।

१९९४ मा बेलायत सरकारले जयनगरदेखि महोत्तरीको बिजलपुरासम्म ५२ किमि न्यारोग्रेज रेलवे ट्रयाक बनाइदिएको थियो । यो रुटमा कोइला र डिजल इन्जिनबाट चल्ने रेल सेवा २०७१ माघदेखि बन्द छ । बेलायतले न्यारोग्रेज ट्रयाक बनाइ दिएकै रुटमा भारतले ब्रोडगेज लिंक निर्माण गरेको हो ।

रेल छोपेको छोप्यै

ट्रयाकको गति परीक्षण गर्दा नेपाली रेल नै कुदाइएला कि भन्ने धेरैको अपेक्षा थियो । तर प्राविधिक विषय भएकाले ट्रयाकको गति परीक्षण गर्न भारतीय विशेष रेल नै गुडाइयो । रेलवे ट्रयाकको गति परीक्षण गर्नु करिब अन्तिम काम हो । यसपछि रेल कुदाउन ट्रयाक तयार रहेको प्राविधिकको दाबी छ । तर जयनगर–जनकपुर–कुर्था खण्डमा नेपाली रेल कहिले गुड्छ, टुंगो छैन ।

‘रेल सेवा सञ्चालन गर्न प्राविधिक रूपमा हामी तयार छौं,’ नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले भने, ‘जनशक्ति तयार छ । ट्रयाक परीक्षण पनि गरिसक्यौं । अब सञ्चालन मिति सरकारले तोक्नुपर्छ ।’ उनका अनुसार भारत सरकारले रेलवे निर्माण गरिदिएको संरचना औपचारिक रूपमा हस्तान्तरण गर्न बाँकी छ । ‘संरचना टेक–ओभर गर्न हामी प्रतीक्षारत छौं,’ उनले भने, ‘हस्तान्तरण हुनेबित्तिकै रेल सेवा उद्घाटन गर्छौं । रेल सञ्चालनको मिति पनि तोक्छौं ।’

रेलवेका संरचना निर्माणमा भारतीय सरकार जोडिएकाले हस्तान्तरण र उद्घाटनका लागि दुवै देशका उच्च तहमा सहमति हुन बाँकी छ । त्यसले पनि नेपालमा रेल सञ्चालनमा ढिलाइ भइरहेको छ । भारत सरकारले रेलवे ट्रयाक निर्माण गरिदिए पनि नेपाल सरकारले आफ्नै रेल गुडाउन गत असोजमै दुई सेट नयाँ रेल खरिद गरिसकेको छ । भारतीय रेल निर्माण कम्पनीसँग ८४ करोड ६५ लाख रुपैयाँमा किनिएका दुई सेट रेल गत असोज २ मा जनकपुर ल्याइएको छ ।

कानुन, जनशक्ति र प्राविधिकको अभावमा नेपालले किनेका ती रेल धनुषाको इनर्वा स्टेसनमा त्रिपालले छोपेर राखिएको छ । रेलको रेखदेखमा सशस्त्र प्रहरी खटाइएको छ । बेला–बेलामा प्राविधिकले नेपाली रेल अलि परसम्म गुडाएर दुरुस्त पारेर फेरि त्रिपालले छोपेर राख्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७