अलैंचीबाट एक अर्ब ३५ करोड आम्दानी


४ श्रावण २०७८, सोमबार
Alaichi

ताप्लेजुङ, ४ साउन । ताप्लेजुङको अलैंची जोनमा उत्पादित अलैंचीको बिक्रीबाट एक वर्षमा किसानले एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैंची उत्पादन गरेका हुन् ।

अलैंची जोनबाट दुई हजार छ मेट्रिक टन उत्पादन भएकोमा दुई हजार मेट्रिक टन बिक्रीबाट रु एक अर्ब ३५ करोडभन्दा बढी किसानले आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन कार्यालय ताप्लेजुङले जनाएको छ ।

करिब छ मेट्रिक टन अलैंची मात्र ताप्लेजुङमा खपत भएको तथ्याङ्कले जनाएको छ । अलैंची जोनले ताप्लेजुङमा तीन हजार ७०० हेक्टर क्षेत्रफल ओगटे पनि तीन हजार ४०० हेक्टर क्षेत्रफल मात्र उत्पादनशील क्षेत्र रहेको अलैंची जोनका कृषि विकास अधिकृत शम्भुप्रसाद देवले बताए ।

फुङ्लिङ नगरपालिकाका–११ मध्ये सबै वडामा किसानले अलैंची खेती गर्दै आएका छन् । मैवाखोला गाउँपालिकामा छ मध्ये सबै वडामा अलैंची उत्पादन हुँदै आएको अलैंची जोन कार्यालय ताप्लेजुङले जनाएको छ । मिक्वाखोला गाउँपालिकाका पाँच वडा र फक्ताङलुङ गाउँपालिकाको वडा नं ७ ओलाङ्चुङगोलाबाहेक छ वटा वडामा अलैंची खेती हुँदै आएको छ । आठराइ त्रिवेणी गाउँपालिकाका वडा नं ३, ४ र ५ गरी तीन वटा वडा र पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं १ र ३ गरी दुई वटा वडामा किसानले अलैँची खेती गर्दै आएका छन् ।

मेरिङ्देन गाउँपालिकाको वडा नं ३ खाम्लुङबाहेक बाँकी पाँच वटा वडा र सिरिजङ्गा गाउँपालिकाको वडा नं ६ मामांखेमा अलैंची खेती गरिन्छ । जिल्लामा रहेका कूल ६१ वडामध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोनले ३९ वटा वडामा कार्यक्षेत्र बनाएर कार्यक्रम गर्दै आएको अलैंची जोनका कार्यालय ताप्लेजुङले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७