१५ दिनपछि परिवारले बुझे सुजिताको शव, अझै खुलेन मृत्युको रहस्य


४ श्रावण २०७८, सोमबार

चितवन, ४ साउन । मृत भेटिएकी चितवन राप्ती नगरपालिकाकी सुजिता भण्डारीको शव परिवारले १५ दिनपछि बुझेका छन् ।
स्थानीय र परिवारले सुजिताको हत्या भएको भन्दै हत्यारा सार्वजनिक नगरेसम्म शव नबुझ्ने अडान लिँदै आएका थिए ।

तर, सोमबार जिल्ला प्रहरी कार्यालयमा भएको छलफलपछि परिवारले भण्डारीको शव बुझेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।

शव परीक्षणको सबै प्रक्रिया भइसकेकाले परिवारले बुझेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको गहिरो रूपमा अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । गत असार ११ गते घरबाट निस्किएकी सुजिता असार २० गते घर नजिकैको सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिइन् ।

घरबाट निस्केको करिब ६ घण्टापछि उनले आफू अपहरणमा परेको भन्दै दिदिसँग मोबाइलमा कुराकानी गरेकी थिइन् । वेपत्ता सुजिताको शव फेला परेपछि हत्या भएको आशंका गरिएको थियो । पोष्टमाटर्मको प्रारम्भिक रिपोर्टमा कुनै तथ्य फेला नपरेपछि भिसेरा परीक्षण थालिएको थियो । तर, भिसेरा परीक्षणको रिपोर्ट आइनसकेको प्रहरीले बताएको छ ।

स्थानीय स्रोतका अनुसार उनको आजै देवघाटमा दाहसंस्कार गरिनेछ । सुजिताको शव अहिले चितवन लगिँदै छ । प्रहरीले घटनाको तथ्यबारे केही दिनमा सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७