११ राजदूतको नियुक्ति खारेज गर्ने सरकारको निर्णय, थप खोपका लागि मित्र राष्ट्रसँग आग्रह


४ श्रावण २०७८, सोमबार
deuwa cabinet

काठमाडौं, ४ साउन । सरकारले यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ जना राजदूतलाई फिर्ता बोलाउने भएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले ओली सरकारले नियुक्त गरेका ११ जना राजदूतको नियुक्ति निर्णय खारेज गर्दै उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै सरकारले भारतसँगको उडान संख्या थप गर्दै हप्तामा तीन पटक आवतजावतको व्यवस्था गरेको छ । कोभिड महामारीका कारण यसअघि भारतका हप्तामा एउटा उडान मात्र हुने गरेको थियो ।

त्यस्तै सरकारले साउन ६ गते बुधबार इस्लाम धर्मालम्बीको पर्व बकर इदको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको प्रवक्ता कार्कीले बताए । कार्कीका अनुसार मन्त्रिपरिषद्ले खोप उपलब्ध गराउने सम्पूर्ण छिमेकी र मित्र राष्ट्रलाई धन्यवाद दिँदै अनुदान वा खरिबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक र अन्य मित्र राष्ट्रलाई आह्वान गर्ने निर्णय गरेको छ ।

हाल नेपालमा भारतमा उत्पादित कोभिशिल्ड, चीनमा उत्पादित भेरोसेल र अमेरिकामा बनेको जोन्सन एण्ड जोन्सनको खोप लगाइएको छ । भारतले ११ लाख डोज खोप अनुदानमा दिएको थियो भने नेपालले १० लाख डोज खरिद गरेको थियो । चीनले १८ लाख डोज भेरोसेल खोप अनुदान दिएको छ भने नेपालले खरिद गरेर पनि ल्याएको छ । हालै अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत दिएको जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७