२४ घण्टा बित्यो, ओलीले सोधेनन् माधव नेपाल पक्षलाई स्पष्टीकरण

नेपाल पक्ष केन्द्रीय कमिटी बैठकमा नजाने


५ श्रावण २०७८, मंगलवार
thumb 14

काठमाडौं, ५ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष केन्द्रीय कमिटी बैठकमा नजाने भएको छ ।
आज (मंगलबार) दिउँसो नेपाल पक्षका नेताहरूबीच भएको छलफलमा केही माग अझै पूरा नभएकाले केन्द्रीय कमिटी बैठकमा नजाने निष्कर्ष निकालिएको जनाइएको छ । नेपाल पक्षका नेता एवं एमाले केन्द्रीय सदस्य विरोध खतिवडाले आजको केन्द्रीय कमिटी बैठकमा नजाने जानकारी दिएका छन् । ‘हाम्रा केही माग पूरा भएका छैनन् । माग पूरा नहुँदासम्म बैठकमा जाँदैनौं’, खतिवडाले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज अपराह्न ३ बजे केन्द्रीय कमिटी बैैठक बोलाएका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमाले केन्द्रीय कमिटीको १० औं बैठक सोमबारबाट शुरू भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गर्दै सोमबार स्थगित भएको केन्द्रीय कमिटी बैठक आज पनि बस्न लागेको हो । एमाले अध्यक्ष ओलीको प्रस्तावमा केन्द्रीय कमिटी बैठकले २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म उनीहरूलाई स्पष्टीकरण सोधिएको छैन ।

एमाले नेता खतिवडाले सञ्चारमाध्यममा सुनेको भए पनि आफूलाई कसैले स्पष्टीकरण नसोधेको बताएका छन् । ‘अहिलेसम्म कुनै पत्र आएको छैन । इमेल, मेसेजबाट पनि केही जानकारी आएको छैन’, खतिवडाले भने । ३ साउनमा प्रतिनिधि सभामा प्रधानमन्त्री देउवाले विश्वासको मत पाएका थिए ।

त्यसमा २२ जना एमाले सांसदले पनि मत दिएका थिए । जसमध्ये आठ जना अध्यक्ष ओली पक्षका थिए ।
एमालेबाट विश्वासको मत दिनेमा सांसदहरुमा ओली पक्षीय प्रेम आले, हीराचन्द्र केसी, किसान श्रेष्ठ, पार्वती बिसङ्खे, कलिला खातुन, वीनादेवी बुढाथोकी, धनबहादुर बुढा र समिमा हुसेन थिए ।

त्यसैगरी, वरिष्ठ नेता माधवकुमार नेपालसहित रामकुमारी झाँक्री, मेटमणि चौधरी, विरोध खतिवडा, मुकुन्द न्यौपाने, निरादेवी जैरु, सरला यादव, लक्ष्मी चौधरी, पुष्पा कर्ण, कृष्णलाल महर्जन, भवानी खापुङ, कल्याणी खड्का, सरला यादव र गोपाल बमले पनि देउवालाई विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७