सप्तकोशीमा पानीको बहाव उच्च, २९ वटा ढोका खोलियो


५ श्रावण २०७८, मंगलवार
saptakoshi river
फाइल फोटो

सप्तरी, ५ साउन । पूर्वी पहाडी क्षेत्रमा लगातार परेको बर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ ।
सप्तकोशीमा मंगलबार दिउँसो ४ बजे पानीको बहाव बढेर प्रतिसेकेण्ड २ लाख २३ हजार ४१५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिएका छन् । पानीको बहाव उच्च भएपछि ब्यारेजको ५६ ढोका मध्य २९ वटा ढोका खोलिएका छन् ।

सप्तकोशीमा पानी बढेपछि कोशी आसपासका बासिन्दालाई सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । कोशीको बाढीबाट हुने सम्भावित घटनालाई मध्यनजर गर्दै गोताखोरसहितको शसस्त्र प्रहरीको उद्धार टोली कोशी आसपासका क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिए ।

सप्तकोशीमा पानीको बहाव उच्च हुँदा समेत कोशी ब्यारेजका सबै ढोका नखोलेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । भारत सरकारको नियन्त्रणमा रहेको कोशी ब्यारेजका सबै ढोका नखोलेका कारण वर्षेनी कोशी आसपासका खेती योग्य जमिन र मानव बस्ती डुवानमा पर्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७