माधव नेपाललाई मन परेको अमिताभ बच्चनको त्यो गीत


६ श्रावण २०७८, बुधबार
Madhavkumar Nepal Senior Leader of Uml scaled

काठमाडौं, ६ साउन । साधारण टिसर्ट र पाइजामा थिए पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल । कोटेश्वरस्थित निवासमा उनले दिएकै समयमै पुग्दा हामीलाई आधा घण्टा कुर्नुपर्ने सूचना दियो उनको सचिवालयले ।

हामीलाई दिएको समयमा नेता नेपाल एमालेकै अर्का एक जना वरिष्ठ नेतासँग कुरा गर्दै थिए । ‘ओली साह्रै बद्मास रहेछन्, तिनको कहिल्यै भर नगर्नू ?’ हिँड्ने बेलामा ती नेताले हामीले सुन्ने गरी नेपाललाई सुझाव दिएर गए ।

केही समयपछि हामी वरिष्ठ नेता नेपालको कुरा सुन्न थाल्यौं । पछिल्ला राजनीतिक घटनाक्रमबारे थोरै बेलिविस्तार लाउँदै थिए उनी, अर्का नेताको फोन आयो । मोबाइलको कभर पल्टाउँदै नम्बर हेरे र भनें ‘एकछिन है ।’ हाम्रै अगाडि वरिष्ठ नेता नेपालले उनीसँग कुरा गरे, कुराकानीको सन्दर्भ पार्टी एकताकै बारेमा थियो ।

‘मिलाउनुस् न त तपाईहरु’ । केपी ओलीसँग कुरा गरेर मात्रै मलाई फोन गर्नू,’ फोन राखिसकेपछि मुसुक्क हाँस्दै वरिष्ठ नेता नेपालले फोन गर्ने मान्छेका बारेमा जानकारी दिए । उनी ओली समूहका खाँटी मान्छे थिए ।

कुराकानीकै क्रममा उनले युट्युबमा क्लिक गर्दै हामीलाई गीत सुनाए । ‘म तपाईंहरूलाई दुई लाइन मात्रै सुनाउँछु, मन प¥यो भने पछि सुन्नुहोला,’ उनले हामीसँग भने । गीत थियो अमिताभ बच्चनको स्वरमा रेकर्ड भएको रवीन्द्रनाथ टेगोरको ‘ज्योदी तोर डाक सुने क्यु, ना आसे । अगला चलो, एक्ला चलो ।’

‘बंगाली यो गीत म बेलाबेलामा सुन्छु । ३०–३२ सालतिर निकै सुन्थ्यौं हामी यो गीत,’ उनले भने । ३० को दशकमा पञ्चायतविरोधी आन्दोलन सुरु गर्दा क्रान्तिकारी भाव जगाउने नेपाली गीतहरू थोरै थिए । ‘बंगाल र कम्युनिस्टको विशेष खालको सम्बन्ध थियो, त्यसकारण हामीहरू यही गीत बजाउँथ्यौं,’ नेता नेपालले भने, ‘त्यसपछि भने जेबी टुहुरे, रामेश, रायनहरूको गीत आउन थाल्यो । कम्युनिस्टका कार्यक्रममा ती गीतहरू बज्न थाले ।’

त्यसो त नेता नेपाल फिल्मका पनि पारखी हुन् । रौतहटबाट साइकलको पाइडल घुमाउँदै भारतीय सहरमा फिल्म हेर्न गएको स्मरण उनलाई अहिले पनि ताजै छ ।

नेता नेपाललाई मन परेको यो गीत सन् १९०५ मा रवीन्द्रनाथ टेगोरले लेखेका थिए । यसको शीर्षक थियो ‘एका’ । सोही वर्ष एउटा बंगाली म्यागजिनमा प्रकाशित भयो यो गीत । यही गीतपछि बंगाली कीर्तनका रूपमा गाइयो । गीत अत्यधिक लोकप्रिय भयो । यो गीतलाई गीतभन्दा पनि समाज परिवर्तनको एउटा गर्विलो आवाजका रूपमा बुझ्यो भारतीय समाजले । भारतमा लेखिएकामध्ये समाज परिवर्तनका लागि लेखिएको २२औं गीतमा पर्छ यो । अहिंसावादी नेता महात्मा गान्धीलाई अत्यधिक मन परेको यो गीत पछि हिन्दी फिल्म ‘कहानी’मा राखिएको थियो । जसमा अमिताभ बच्चनको स्वर रहेको छ ।

नेता नेपाललाई यो गीत अहिले झन् धेरै मन पर्नुको कारण हो, एमाले पार्टीभित्र देखिएको पछिल्लो गतिविधि । धेरैले लख काटेका छन् एमाले पार्टी विभाजन भइसक्यो, घोषणा हुन मात्रै बाँकी छ ।

‘हामीले नेता नेपाललाई सोध्यौं, एमाले अब फुटेकै हो त ? ‘केपी ओली सुध्रिएनन् भने फुटेकै मान्नुस्,’ उनको जवाफ थियो । आफूले केपी ओली व्यक्तिको नभएर प्रवृत्तिको विरोध गरेको उनको भनाइ थियो । ‘व्यक्तिको मैले कहिल्यै विरोध गरिनँ, गर्दिनँ पनि । ओली प्रवृत्तिको कुरा गरेको हुँ । संविधान र लोकतन्त्रमाथि प्रहार गर्ने व्यक्ति असल एमाले हुन सक्दैन,’ उनले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा केही सांसद तटस्थ बसे । जो नेपाल समूहकै थिए । ‘तपाईंका आफ्नैले पनि साथ छोड्दै छन् भन्ने सुनिन्छ नि ?,’ हाम्रो जिज्ञासामा उनले भने, ‘उताकाले पनि त साथ छोड्दैछन् नि । भरखर यहाँबाट जानु भएको मान्छे देख्नुभयो होला । अघि कसको फोन आएको थियो त्यो पनि थाहा पाउनुभयो होला,’ फोन गर्ने व्यक्तिको नाम भन्दै नेता नेपालले भने ।

लोकतन्त्र र संविधान रक्षाका लागि आफू एक्लै पनि हिँड्न सक्ने नेता नेपालको भनाइ थियो । ‘१८ वर्षको उमेरदेखि राजनीति गरेको हुँ । संघर्ष धेरै गरें । यात्रा हो हिँड्दै जाँदा सँगै हिँड्ने गन्तव्यमा पुग्छन् । यताउता गर्नेहरू बीचैमा छुट्न पनि सक्छन्,’ उनले भने । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७