ओली–नेपाल रणनीति ‘पर्ख र हेर’


६ श्रावण २०७८, बुधबार
kp oli madhav nepal
फाइल फोटो

काठमाडौं, ६ साउन । आन्तरिक विवादमा रहेका एमालेका दुवै समूह यति बेला ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछिको अवस्थामा एमालेका दुवै समूह आन्तरिक छलफलमा जुटे पनि आगामी बाटोबारे निष्कर्ष निकाल्न सकेका छैनन् । दुवै समूह एकअर्काको निर्णय कुरेर बसे जस्तो देखिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराई नेपाल पक्षलाई २४ घण्टे स्पष्टीकरण सोधेको भए पनि मंगलबार कारबाहीको निर्णय नगरी थाती राखेको छ । नेपाल समूहले पनि स्पष्टीकरण पत्र आइनसकेको भन्दै कुनै प्रतिक्रिया दिएको छैन । ओली पक्षले नेपाल समूह पार्टीबाट बाहिरिँदा कति असर पर्न सक्छ भनी समीक्षा गरिरहेको छ ।

मंगलबारको केन्द्रीय कमिटी बैठकमा पार्टीका प्रदेश अध्यक्षले नेपाल पक्ष बाहिरिँदा पर्न सक्ने घाटा नाफाबारे रिपोर्टिङ गरेको स्रोतले बतायो । बैठकमा नेता पृथ्वी सुब्बा गुरुङले पार्टी एकताको विकल्प नभएको बताएका थिए ।

नेपाल पक्षबाट पनि एकताका पक्षमा निरन्तर आवाज उठाउने नेताहरू रहेकाले यस विषयमा ओली आफैंले सहजीकरण गर्नुपर्ने स्थायी कमिटी सदस्य गुरुङको धारणा थियो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले प्रदेश अध्यक्षबाट पार्टी संगठनको अवस्थाबारे जानकारी लिने काम भएको बताए । १० बुँदे सहमति कार्यान्वयन गर्दै एकताका निम्ति निरन्तर प्रयास गर्ने निर्णय भएको उनले जानकारी दिए । सोमबारको बैठकले शेरबहादुर देउवाको पक्षमा भोट हाल्ने २२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । उनीहरूले स्पष्टीकरणको जवाफ नदिए पनि कारबाही गर्ने विषयमा कुनै निर्णय भएको छैन । बैठकमा सकेसम्म पार्टी एकता कायम गरेर जानुपर्ने आवाज उठेको थियो ।

सोमबारको बैठकमा देउवालाई मत दिने सांसदलाई पार्टीबाट तत्कालै निष्कासन गर्नुपर्ने आवाज उठेको भए पनि मंगलबार भने एकताको पक्षमा आवाज उठेको एक केन्द्रीय सदस्यले जानकारी दिए । पार्टीको विवाद निरूपण कार्यदलमा रहेका सुवास नेम्वाङले पार्टी एकताको सम्भावना अझै रहेको बताएका थिए । उनले कार्यदलका कामकारबाहीबारे बैठकलाई जानकारी गराएका थिए ।

नेपाल पक्षले पनि पार्टीभित्र रहँदा वा नयाँ दल खोल्दा केकस्तो हुन्छ भनेर छलफल गरिरहेको छ । सो समूहले तीन चरणमा अहिलेको अवस्थाबारे छलफल गर्ने जनाएको छ । यो समूहमा पनि पार्टी एकताका पक्षमा कुराकानी गर्न नेपाललाई सुझाव दिइएको छ ।

तर आत्मसम्मान गुमाएर भने एकता गर्न नहुने धारणा उनीहरूले व्यक्त गरेका छन् । नेपाल पक्षको भेलामा ओलीको प्रस्तुति र अहिले बसिरहेको केन्द्रीय कमिटी बैठकबाट कस्तो निर्णय आउँछ, त्यसै आधारमा अघि बढ्नेबारे छलफल भएको थियो । भेलापछि नेत्री रामकुमारी झाँक्रीले ओली पक्षले सोधेको भनिएको स्पष्टीकरण पत्र आफूहरूकहाँ आइनपुगेको बताइन् । ओलीले बदलाको भावना छाडेर पार्टी एकताका लागि पहल गरे राम्रो हुने उनको भनाइ छ ।

नेपाल समूहको भेलामा केही केन्द्रीय सदस्य तथा सांसदले कानुनले मिल्छ भने नयाँ दल खोलेर अघि बढ्नु पर्ने आवाज पनि उठाएका छन् । उनीहरूले ओलीले सधैं पेल्ने भएकाले नयाँ दल खोल्नुको विकल्प नभएको बताएको स्रोतले जनाएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७