जनताको तागतले प्रतिगमन परास्त भयो : प्रचण्ड


६ श्रावण २०७८, बुधबार
Prachanda

काठमाडौं, ६ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको शक्तिले प्रतिगामी तत्वहरू परास्त भएको बताएका छन् । बकर इद पर्वको अवसरमा आज (बुधबार) बिहान शुभकामना सन्देश जारी गर्दै प्रचण्डले जनताको तागतका अगाडि प्रतिगामीहरू परास्त भएको बताएका छन् ।

‘समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीमाथि पछिल्लो चरणमा देशी–विदेशी प्रतिक्रियावादीबाट हमला गर्ने काम भए,’ प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, ‘समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थाल्यो । तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भएका छन् ।’

उनले प्रतिगामी तत्वले कटौती गरेको जनताको अधिकारको पुनर्बहाली भइरहेको पनि बताएका छन् । उनले आज परेको इद पर्वलाई कटौति भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन पनि आग्रह गरेका छन् ।

जनताको एकताको बलमा राजनीतिक र सामाजिक परिवर्तनहरू भएको चर्चा गर्दै प्रचण्डले सन्देशमा भनेका छन्, ‘वर्षौंदेखि नेपाली समाजले आफ्नो छुट्टै पहिचानका रुपमा अभ्यास गर्दै आएको सामाजिक व्यवस्था बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक हो । नेपालीहरुको यही विशेषताका कारण नेपाल एक अविभाज्य र सार्वभौम राष्ट्र बन्न सफल भएको हो ।’

जनताले गरेको विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपाली जनसमुदायमा एकतावद्ध पहल कदमीका लागि पनि प्रचण्डले आह्वान गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७