शंखमुलमा माधव नेपाल समूहको स्थायी कमिटी बैठक शुरू


६ श्रावण २०७८, बुधबार
Madhavkumar Nepal Senior Leader of Uml scaled

काठमाडौं, ६ साउन । नेकपा एमालेभित्रको विवाद वारपारको अवस्थामा आइपुगेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी कमिटी बैठक शुरू भएको छ । काठमाडौंको शंखमुलमा शुरू बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टी एकीकरणको आगामी सम्भावनाबारे छलफल चलिरहेको नेताहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने कि नदिने विषयमा सहमति जुट्न नसकेपछि गत साउन ३ गते यता स्थायी कमिटी सदस्यहरू जुट्न सकेका थिएनन् । बुधबार बैठकमा साउन ३ यताको राजनीतिक परिस्थिति र एमाले एकताकै विषयमा छलफल केन्द्रीत हुने एक स्थायी कमिटी सदस्यले बताएका छन् ।

बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिएका कार्यदल सदस्य रहेका स्थायी कमिटी सदस्यहरू पनि उपस्थित छन् । अध्यक्ष केपी शर्मा ओलीले देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरूलाई कारवाही गर्ने बताइरहेका बेला बुधबारको छलफल त्यो विषयमा पनि केन्द्रीत हुने नेताहरूले बताएका छन् ।

संस्थापन पक्षले नेपालसहित २२ सांसदलाई कारबाही गरे पनि १० बुँदे सहमति कार्यान्वयनमा लगेर अन्तिमसम्म एकताको प्रयास गर्ने र अर्को पक्षका धेरैभन्दा धेरै नेता मनाउने कोशिसमा देखिएको छ । उसले नेता नेपाल बाहेकको एकतामा जोड दिइरहेको छ ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले१० बुँदे सहमतिको प्रस्तावअनुसार अन्तिमसम्म एकतालाई जोड दिने पक्षमै केन्द्रित रहेर छलफल चलिरहेको बताए । ‘विघटित कार्यदलको १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्दै पार्टी एकताका निम्ति अन्तिमसम्म प्रयत्न गर्ने बैठकमा छलफल चलिरहेको छ,’ बैठकपछि प्रवक्ता ज्ञवालीले भने ।

बैठकमा प्रदेश अध्यक्षहरू कर्ण थापा, गोरख बोगटी, लीला गिरी, जगत विश्वकर्मा, आनन्दप्रसाद पोखरेल, ज्वालाकुमारी साह र देवराज घिमिरेले प्रदेशमा पार्टीको संगठनात्मक अवस्था, पार्टी विभाजित भएको अवस्थामा त्यसले तत्काल र चुनावमा पार्न सक्ने असरलगायत विषयमा केन्द्रित रहेर सुझाब प्रस्तुत गरेका थिए ।

उनीहरूले अहिलेको अन्योलपूर्ण अवस्था छिटो समाप्त गरेर पार्टीलाई चुस्तदुरुस्त बनाएर पुरानै लयमा फर्काउन ढिलाइ गर्न नहुने, अहिलेको प्रतिकूल परिस्थितिबारे पार्टीपंक्तिलाई प्रशिक्षित गर्नुपर्ने तथा यसबीचका कमजोरीको पनि गहन आत्मसमीक्षा गर्नुपर्ने सुझाब राखेको पनि ज्ञवालीले जानकारी दिए ।

बैठकमा विघटित कार्यदलका तर्फबाट संस्थापनतर्फबाट प्रतिनिधित्व गरेका संयोजक सुवास नेम्वाङले पार्टी एकताका निम्ति गरिएका प्रयासका विभिन्न चरण, दशबुँदे सहमति र कार्यान्वयनका विषयमा केन्द्रित रहेर ब्रिफिङ गरेका थिए । प्रवक्ता ज्ञवालीले नेपालसहितका सांसदलाई स्पष्टीकरणको चिठी पठाइएको र उनीहरूले प्राप्त गरेपछि पार्टीले तदनुरूपको प्रक्रिया अगाडि बढाउने पनि जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७