कमला खोलाको बाँध भत्कियो : खेत कटान शुरु, बस्ती डुबानको खतरामा


६ श्रावण २०७८, बुधबार

जनकपुरधाम, ६ साउन । कमला खोलाको बाँध भत्किएको छ । खोलामा आएको बाढीले धनुषातर्फको बाँध भत्किएको हो । बाढीले सबैला नगरपालिका–१३, किरतपुर नजिक बाँध भत्काएर खेत कटान शुरु गरेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले जानकारी दिएका छन् ।

कटान नियन्त्रणको प्रयास गरिरहेको उनले बताए । ‘नियन्त्रणको प्रयास जारी छ । अझै भइसकेको छैन’, उनले भने, ‘खोलामा पानीको बेग धेरै छ । १७ फिट तलसम्म पानी छ ।’

बाँध करिब ३०० मिटर भत्किएको छ । बगर हुँदै धान खेततर्फ पानी गइरहेको छ । केही समयमा धान खेतमै पानी पुग्ने उनको भनाइ छ । बाँध बचाउन नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले प्रयास गरिरहेका छन् । प्लास्टिकको बोरामा माटो हालेर पानीलाई खोलातर्फ डो¥याउने प्रयास भइरहेको छ ।

नियन्त्रणको प्रयास सफल नभए गाउँमै पानी पस्ने जोखिम रहेको छ । करिब ६०० मिटर बाँध अझै जोखिममा रहेको उनले बताए । सबैला नगरपालिकाकै पर्टेबानजिकको बाँध पनि भत्किने अवस्थामा रहेको उनले जानकारी दिए ।

बाढीका कारण हुन सक्ने सम्भावित जोखिमबाट स्थानीयहरुलाई सतर्क गराइएको छ । बाँध भत्किएपछि धनुषाका पूर्वी क्षेत्रका गाउँहरू जोखिममा परेका छन् । स्थानीय त्रसित भएका छन् । बाढीले धनुषाको सबैला नगरपालिका, सहिदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका गाउँहरु डुबानमा पर्ने जोखिम बढेको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७