प्रधानमन्त्री भेट्न बालुवाटार पुगे विप्लव


६ श्रावण २०७८, बुधबार

काठमाडौं, ६ साउन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न आज (बुधबार) बालुवाटार पुगेका छन् । पछिल्लो समय राजनीतिक भेटघाट तीब्र बनाएका विप्लव आज प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

ओली सरकार ढले लगत्तै नेता माधवकुमार नेपालबाट भेटघाट शुरु गरेका विप्लव त्यसपछि सशस्त्र युद्धताकाका आफ्ना कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट्न खुमलटार पुगेका थिए । त्यसपछि बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका विप्लवले सँगै सशस्त्र युद्धमा काम गरेका डा. बाबुराम भट्टराईसँग पनि उनकै निवासमा पुगेर भेटवार्ता गरेका थिए ।

अर्धभूमिगत राजनीतिमा रहँदा हतियारसहित तथा हतियाररहित रुपमा समातिएका विप्लवका धेरै नेता–कार्यकर्ता अहिले पनि जेलमा छन् । अरु दलसँग कुनै सरोकार नराखी ओलीसँग आफ्ना नेता–कार्यकर्ता रिहा गर्ने शर्तमा सम्झौता गरेर खुला राजनीतिमा आएका उनी अहिले नेता–कार्यकर्ता छुटाउन सबै दलका नेतासँग भेटघाट गरिरहेका छन् । उनले आफ्ना गतिविधि राजनीतिक भनेर स्वीकार गरिसकेपछि नेता–कार्यकता रिहा नगरेर सम्झौता पालना नभएको गुनासो गरिरहेका छन् ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७