डिएसपी खतिवडा बागमती प्रदेशकै उत्कृष्ट प्रहरी घोषित


६ श्रावण २०७८, बुधबार

हेटौंडा, ६ साउन । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडा बागमती प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् । डिएसपी खतिवडाले सम्पादन गरेका कामको उच्च मूल्याङ्कन गर्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले उनलाई असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित गरेको हो ।

खतिवडाले केही समय अघि बनेपामा भएको दुर्घटनाका दोषीलाई एक महिनापछि पक्राउ गर्न सफल भएका थिए । दुर्घटनाका दोषी रामेछाप उमाकुण्ड गाउँपालिका–१ का ४५ वर्षीय दोर्जे शेर्पालाई ना ४ च ४०६९ नम्बर माज्दा गाडीसहित खतिवडाले पक्राउ गरेका थिए ।

पाँचखाल नगरपालिका–६ बस्ने माधव घिमिरेले आफ्नी श्रीमती तथा ६ वर्षका छोराको हत्या गरी फरार भएको घटनाको अनुसन्धानमा समेत खतिवडा सफल भएका थिए ।

साथै कोरोना महामारी संक्रमणको अवस्थामा विभिन्न सरोकारवालासँग समन्वय गरी अक्सिजन उपलब्ध गराउन लागेको, स्वास्थ्य सामग्री व्यवस्थापनलगायत प्रहरी परिचालनमा प्रभावकारी भूमिका निर्वाह गरेको र विभिन्न मुद्दाका ११ फरार प्रतिवादीलाई असारमा पक्राउ गरी अदालतमा पेश गर्न सफल भएको भन्दै उनलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सम्मान गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७