नहरमा डुबेर पाँच जनाको मृत्यु


प्रकाशित मिति : July 22, 2021

चितवन, ७ साउन । नहरमा डुबेर बाँके र चितवनमा पाँच जनाको ज्यान गएको छ । बाँकेमा तीन जना र चितवनमा दुई जनाको नहरमा डुबेर ज्यान गएको हो ।

बकर इदको अवसरमा रमाइलो गर्न भन्दै बाँकेको नेपालगञ्जबाट कोहलपुर गएका तीन युवाको कोहलपुर नगरपालिका–१० चटारस्थित डुडुवा खोलामा रहेको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–११ श्रृष्टि हल नजिक बस्ने १६ वर्षीय अरिब जसगढ, सोही ठाउँका १७ वर्षीय अरमान जसगढ र सदरलाइन बस्ने १८ वर्षीय रासिद जसगढ छन् । सो स्थानबाट अन्य दुई जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ ।

चितवनमा दुई जनाको मृत्यु

यस्तै चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको पनि नहरमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार करिब चार बजेको समयमा क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेका थिए । नहरमा खसेका साथीलाई बचाउन जाने क्रममा अंकित पनि बगेका थिए ।

उनीहरु नहरमा बेपत्ता भएको खबर पाएपछि प्रहरीले खोजी गर्दा २०० मिटर पर नहरबाट उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा उनीहरुको साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्