आज कहाँ–कहाँ छ बाढीको जोखिम ?


७ श्रावण २०७८, बिहीबार
badhi 3

काठमाडौं, ७ साउन । मनसुनी वायुको न्यून चापीय रेखा तराईको भू–भाग नजिक रहेका कारण आज (बिहीबार) पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आज देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । यो क्रम केहि दिन रहने जनाइएको छ । मनसुन सक्रिय हुँदा देशका विभिन्न ठाउँमा आज बाढी आउने सम्भावना रहेको बताइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरुमा बहाव सामान्य रहेको छ ।

आज विहान ७ बजे देखि २४ घण्टासम्म महाकाली र यसका सहायक नदीहरुमा बहाब बढे पनि सतर्कता तहभन्दा तलै रहने विभागले जनाएको छ । कोशी, नारायणी र कर्णालीका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने पूर्वानुमान रहेको छ ।

प्रदेश–१ को ताप्लेजुङ्ग, पाँचथर, सोलुखुम्बु, संखुवासभा, भोजपुर, खोटाङ, झापा, मोरङ तथा वाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ्गमा नदी तथा खोलामा भने पानीको बहाव बढ्ने विभागले जनाएको छ ।
गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, म्याग्दी, पर्वत, बागलुङ, लुम्बिनी प्रदेशको पाल्पा, रुपन्देही, रुकुम पूर्वका नदी तथा खोलामा पानीको बहशाव बढ्ने सम्भावना रहेको छ ।

कर्णाली प्रदेशको रुकुम पश्चिम, दैलेख, कालिकोट, मुगु, जुम्ला, जाजरकोट, सुदूरपश्चिम प्रदेशको दार्चुला, बझाङ, बाजुरा, अछाम, डडेलधुरा, कञ्चनपुर र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढी समेत आउने सम्भावना रहेकाले सतर्क हुन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७