एमाले हामीले बनाएका हौं, अपमान सहेर बस्न सकिन्न : माधव नेपाल


७ श्रावण २०७८, बिहीबार
madhav nepal.

काठमाडौं, ७ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व नसुध्रिए अपमान सहेर बस्न नसकिने प्रष्ट पारेका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा आज (बिहीबार) पुष्पलाल स्मृति पार्क चम्पादेवीमा गरिएको कार्यक्रममा नेता नेपालले भने, ‘कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनु पर्छ । जनताको पार्टी बन्न सक्नु पर्छ । एमालेलाई पनि त्यही बाटोमा लैजानु पर्छ ।’

Madhab Nepal @pushpalal program

पार्टी नेताभन्दा नीति प्रधान हुनुपर्छ, गलत कुरा सहेर बस्दा दास प्रवृत्ति मौलाउने बताउँदै नेता नेपालले भने, ‘कम्युनिष्ट दास हुन सक्दैन । अरुको अपमान गर्नेले कहिले राम्रो गर्दैन । त्यो प्रवृत्ति सबैले त्याग गर्न सक्नु पर्छ ।’

आफूले बनाएको घर छाडेर कोही पनि निस्कन नचाहने भन्दै उनले भने, ‘नेतृत्व सुध्रिन चाहन्छ भने ठीक छ । आफूले बनाएको घर त्यसै कसैले छाड्न चाहँदैन तर अपमान सहेर, गलत कुरो सहेर कोही बस्दैन । नयाँ विचार दृष्टिकोण बनाएर अगाडि बढ्न सकिन्छ । असम्भव भन्ने केही हुँदैन मानिस आफ्नो लक्ष्य विचार र दृष्टिकोणमा अगाडि बढेर गयो भने ।’

पार्टीलाई शुद्धीकरण गर्दै नयाँ ढंगबाट अघि लैजानुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, ‘सुध्रिन चाहनेले आफ्नो कमी कमजोरी सुधार गर्न सक्नु पर्छ त्यो आँट र साहस चाहिन्छ । पार्टीभित्र घाउ खटिरा छन् भने तिनले पीडा दिन्छन् तिनलाई औषधिले निको बनाउनु पर्छ ।’ नेता नेपालले नयाँ सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्रमुख प्राथमिकता दिनुपर्ने पनि बताएका छन् ।

यही आइतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि अध्यक्ष ओलीले नेपालसहित २२ सांसदलाई कारबाही अघि बढाउन बुधबार स्पष्टीकरण सोधेर पठाएका छन् । नेपाल समूहसँग यसअघि दुई पटकसम्म एमालेले स्पष्टीकरण सोधेको थियो । नेपाललाई ओलीले एक पटक पार्टीबाट हटाइसकेका छन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७