टोकियो ओलम्पिकमा जुडोकी सोनिया भट्ट रुसकी इरिनासँग भिड्दै


७ श्रावण २०७८, बिहीबार

काठमाडौं, ७ साउन । नेपालकी जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० मा कठिन प्रतिस्पर्धीको सामना गर्नुपर्ने भएको छ । बिहीबार भएको ‘ड्र’ अनुसार उनले महिला ४८ किलो तौल मुनिको स्पर्धामा रुसी खेलाडी इरिना डोल्गोभाको सामना गर्नेछिन् ।

आमन्त्रित कोटामा ओलम्पिकमा अवसर पाएकी १९ वर्षीया सोनियाले इरिनाविरुद्ध शनिबार निप्पोन बुदोकानमा प्रतिस्पर्धा गर्नेछिन् । विश्व वरीयतामा नवौं स्थानमा रहेकी इरिनाविरुद्ध जित हात पार्न सके सोनियाले अन्तिम १६ मा स्थान बनाउने छिन् । तर, सोनियालाई अन्तर्राष्ट्रिय जुडोमा १७ पदक जितेकी २५ वर्षीया इरिनाविरुद्ध जित हात पार्न त्यति सहज छैन ।

tokyo judo sonia HY5x5xp2aJ

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले डोपिङ प्रकरणका कारण रुसलाई प्रतिबन्ध लगाएकाले इरिनाले ओलम्पिक झन्डामा प्रतिस्पर्धा गर्नेछिन् । महिला ४८ केजीमुनिको स्पर्धामा २८ खेलाडी सहभागी छन् । यसमा इरिनालाई पनि पदकको दाबेदार मानिएको छ ।

वर्ल्ड जुनियर जुडो च्याम्पियनसिप २०१९ को पहिलो चरणमा मोजाम्बिकका खेलाडीलाई पराजित गरेका आधारमा सोनियाले आमन्त्रित कोटामा टोकियो यात्रा गर्ने अवसर पाएकी हुन् । १३ औं दक्षिण एसियाली खेलकुद २०१९ मा कांस्यपदक हात पारेकी उनले एसियन गेम्स २०१८ मा पनि प्रतिस्पर्धा गरेकी थिइन् ।

अर्की नेपाली खेलाडी कल्पना परियारले पनि शनिबार नै प्रतिस्पर्धा गर्दैछिन् । आमन्त्रित कोटामा सुटिङमा ओलम्पिकमा सहभागी हुने अवसर पाएकी उनले महिला १० मिटर एयर राइफलमा चुनौती पेस गर्नेछिन् । कोरोना भाइरसको महामारीको कारण एक वर्ष धकेलिएको ३२औं ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन शुक्रबार हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७