वैकल्पिक बाटो नहुँदा बन्चरेडाँडामा फोहर व्यवस्थापन गर्न समस्या


७ श्रावण २०७८, बिहीबार
Sisdol Domping

काठमाडौं, ७ साउन । वैकल्पिक बाटो निर्माण नहुँदासम्म निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापन केन्द्र बन्चरेडाँडामा तत्काल फोहर विसर्जन गर्न नसकिने भएको छ ।

काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने भन्दै केन्द्र सरकाले दुई वर्ष अघिदेखि धादिङ र नुवाकोट जिल्लाको सिमाना बन्चरेडाँडामा फोहर विसर्जनस्थल निर्माण कार्य गरिरहेको छ ।

अहिले निर्माण कार्यअन्तर्गत पहिलो चरणको काम अन्तिम अवस्थामा पुगेको छ । अबको १० दिनपछि उक्त स्थानमा फोहर राख्न सकिने छ । हाल फोहर व्यवस्थापन गरिरहेको स्थान स्यानिटरी ल्याण्डफिल साइट सिसडोलबाट बन्चरेडाँडामा जानका लागि बाटोको समस्या हुँदा तत्काल उक्त स्थानमा फोहर राख्न नसकिने शहरी विकास तथा भवन निर्माण विभागले जानकारी गराएको छ ।

विभागका उपमहानिर्देशक कुमार घिमिरेका अनुसार उपत्यकाबाट फोहर बोकेर गाडीले सिसडोल पार नगरी दीर्घकालीन फोहर व्यवस्थापनस्थलसम्म पुग्नका लागि वैकल्पिक बाटो छैन । अहिले सिसडोलमा अत्यधिक फोहरको थुप्रो छ, उक्त थुप्रो लोड भएको गाडीले पार गर्दा जतिबेला पनि पहिरो जाने वा भासिने डरका कारण तत्कालै बन्चरेडाँडामा फोहर व्यवस्थापन गर्न कठिन भएको हो ।

अन्यत्र बाटो खोज्ने र तत्काल दीर्घकालीनरूपमा फोहर व्यवस्थापनस्थलसम्म कसरी जान सकिन्छ भनी सम्बद्ध निकायसँग छलफल भइरहेको पनि विभागले जानकरी दिएको छ । सिसडोलदेखि दीर्घकालीन फोहर निर्माणाधीन व्यवस्थापनस्थलसम्म जाने करिब दुई किलोमिटर सडक भने यसअघि नै निर्माण सम्पन्न भइसकेको छ ।

सेल वान र सेल टु गरी दुई भागमा विभाजन गरी निर्माणको काम भइरहेको छ । सेल वान निर्माण सम्पन्न अन्तिम चरणमा रहेकाले बाटोको व्यवस्था भए तत्कालै फोहर व्यवस्थापन गर्न सकिने छ । उक्त स्थानमा करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण भइरहेको छ ।

बन्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । शुरुमा सम्झौता गरिएको समयसीमा सकिई २०७७ वैशाखमा पुनः एक वर्षका लागि समय थपिएको थियो । निर्माणका लागि रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ मा सम्झौता भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७