गठबन्धन सरकारलाई सघाउन पूर्णबहादुर खड्का नेतृत्वमा कार्यदल


८ श्रावण २०७८, शुक्रबार
purna bhadur khakda HSTlqSSFcn

काठमाडौं, ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालनमा सहयोग पुर्‍याउन कार्यदल गठन गरिएको छ । मन्त्रालय बाँडफाँट, राजनीतिक नियुक्तिमा मापदण्ड, सरकारको काम कारवाहीका लागि साझा नीति तथा कार्यक्रम बनाउन कार्यदल बनाइएको नेताहरुले बताएका छन् ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा माओवादी केन्द्रबाट २, जनता समाजवादी पार्टी (जसपा) २ र कांग्रेसबाट २ जना रहनेगरी ७ सदस्यीय कार्यदल गठन गरिएको हो।
को–को छन् कार्यदलमा ?
कार्यदलमा खड्कासहित, डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव रहेका छन् । नेकपा एमाले पक्षका नेताहरुलाई पनि कार्यदलमा समेटिने बताइएको छ। बुधबार कार्यदलको बैठक समेत बसेको पुनले बताए ।

‘सरकारलाई काम गर्न सहज हुनेगरी कार्यदल बनाइएको छ,’ पुनले भने, ‘यसले मन्त्रालय बाँडफाँट, साझा नीति तथा कार्यक्रम र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर सरकारलाई राय सुझाव दिनेछ ।’ यसका साथै कार्यदलले कुटनीति क्षेत्रका अन्य नियुक्ति र राजदूत नियुक्ति लगायतबारे समेत गठबन्धनका दलहरुबीचमा सहमतिका आधारमा नाम टुंगो लगाउने काम गर्नेछ ।

असार २९ गते प्रधानमन्त्री नियुक्त देउवाले साउन ३ गते संसदबाट विश्वासको मत समेत पाइसकेका छन् । कांग्रेससहित पाँच दलीय गठबन्धनको सहयोगमा सरकारको नेतृत्व गरेका देउवालाई सहमतिकै आधारमा सरकार चलाउँदै उसका काम कारवाही प्रभावकारी बनाउन कार्यदल बनाइएको नेताहरुले बताएका छन् । आगामी चुनावसम्म गठबन्धन रहने भएकाले कार्यदलले त्यहीअनुसार काम गर्ने पुनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७