टोकियो ओलम्पिकको औपचारिक उद्घाटन आज, ११ हजार २ सय बढी खेलाडीले खेल्दै


८ श्रावण २०७८, शुक्रबार
olympic 1

काठमाडौं, ८ साउन । विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव ओलम्पिक खेलकुद आजबाट जापानको टोकियोमा औपचारिक रुपले शुरु हुँदैछ । विश्व खेलकुदको कुम्भमेला मानिने गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करण निर्धारित मितिभन्दा एक वर्ष ढिलो हुन लागेको हो । कोरोना महामारीले अघिल्लो वर्ष हुन नसकेको यो ओलम्पिकको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नैं राखिएको छ ।

ओलम्पिकका केही खेलहरु दुई दिन अघि नैं शुरु भइसकेका छन् । तर औपचारिक उद्घाटन भने नेपाली समय अनुसार आज दिउँसो पौने २ बजे शुरु हुनेछ । ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिहंले बोक्ने छिन् ।

नेपालबाट पौडीका सिंहसँगै एलेक्जेण्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्दैछन् । गौरिकाले महिला १०० सय मिटर फ्रि स्टाइल र एलेक्जेन्डरले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्ने छन् ।

सुटिङकी कल्पनाले महिला १० मिटर एयर राइफल, जुडोकी सोनियाले महिला ४८ केजी तौल समूह तथा एथ्लेटिक्सकी सरस्वतीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । ओलम्पिकमा सहभागिता जनाउन विश्वका २ सय ४ देश तथा क्षेत्रबाट ११ हजार २ सयभन्दा बढी खेलाडी टोकियो पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७