विप्लव–कमल थापा भेटवार्ता, तीन बुँदे सहमति कार्यान्वयनमा जोड


८ श्रावण २०७८, शुक्रबार
biplab meet rpp leader PAiQTo0rqy

काठमाडौं, ८ साउन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज (शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासँग भेटवार्ता गरेका छन् ।

थापालाई भेट्न विप्लव शुक्रबार बिहान थापा निवास बूढानीलकण्ठ पुगेका छन् । भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै सरकार र विप्लवबीच भएको ३ बुँदे सम्झौतालगायत विषयमा छलफल भएको भेटमा सहभागी नेता बुद्धिमान तामाङले जानकारी दिए ।

राप्रपाले पनि विप्लव समूह र केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने बताएको छ । राप्रपाका अध्यक्ष कमल थापाले शुक्रबार बिहान नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँगको भेटवार्तापछि तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने बताएका हुन् ।

‘नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित उक्त पार्टीका नेता र राप्रपाका नेताबीच आज सौहार्दपूर्ण भेटघाट भयो । दुवै पक्षका बीच समसामयिक विषयमा विचार विमर्श भयो,’ थापाले भनेका छन्, ‘विप्लव नेतृत्वको नेकपासँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा छ ।’

पूर्ववर्ती सरकारले गत फागुन २० गते तत्कालीन अवस्थामा प्रतिबन्धित नेकपासँग प्रतिवन्ध फुकुवा, नेता–कार्यकर्ता रिहाइ र मुद्दा खारेज गर्ने सहमति गरेको थियो । त्यसको भोलिपल्ट विशेष समारोह गरेर सहमति सार्वजनिक गरिएको थियो । उक्त समारोहलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गरेका थिए ।

तर चार महिना बितिसक्दा पनि सहमति अनुसार प्रतिबन्ध फुकुवा बाहेक बन्दी रिहाइ र मुद्दा फिर्ताबारे काम हुन सकेको छैन । नेकपाले विभिन्न मुद्दामा एक सय ३० नेता–कार्यकर्ता विभिन्न कारागारमा थुनिएको जनाएको छ ।

विप्लवले साउन ६ गते प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर तीन बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले पूर्ववर्ती सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गरिने आश्वासन दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७