गण्डकी प्रदेश : कांग्रेसले छान्यो तीन मन्त्री, १ बजे सपथ


८ श्रावण २०७८, शुक्रबार
pokhara1627021663

पोखरा, ८ साउन । गण्डकीमा सत्ताको नेतृत्व गर्ने दल नेपाली कांग्रेसले मन्त्री बन्ने सांसदको नाम टुङ्गो लगाएको छ । सरकार बनेको डेढ महिनापछि कांग्रेसले पाउने थप ३ मन्त्रालय सम्हाल्ने मन्त्रीको टुङ्गो लागेको हो । स्रोतका अनुसार कांग्रेसबाट स्याङ्जाका मेखलाल श्रेष्ठ, तनहुँका डोबाटे विश्वकर्मा र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्दैछन् ।

यी तिनै जना सांसद समानुपातिक निर्वाचित हुन् । यसअघि गत जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सङ्गै सपथ लिएका कुमार खड्का पनि समानुपातिक सांसद हुन् । कास्कीका खड्काले अहिले शिक्षा, विज्ञान प्रविधी तथा सामाजिक विकास मन्त्रालय सम्हालेका छन् ।
कांग्रेसले अब पाउने तीन मन्त्रालय भौतिक पूर्वाधार, पर्यटन र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला हुन् । यी तीन मन्त्रालय कसले पाउने भन्ने तय भइसकेको छैन । शुक्रबार १ बजे नव नियुक्त मन्त्रीको सपथ कार्यक्रम तय भएको छ । त्यहाँ नै मन्त्रीहरुको कार्यविभाजन टुंगो लाग्ने स्रोतले बतायो ।

यता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको ‘आशिर्वाद’ प्राप्त दुई सांसद भने मन्त्री नबन्ने भएका छन् । स्रोतका अनुसार कास्कीका विन्दुकुमार थापालाई मन्त्री बनाउन स्वयम् देउवाले नै पहल लिएका थिए । तर, थापा मन्त्री नबन्ने भएका छन् । निकै दबाबबीच मुख्यमन्त्री पोखरेलले शुक्रबार बिहान मात्र कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा सहभागी हुनेको नाम टुंग्याएका हुन् ।

दिउँसो १ बजे प्रदेश प्रमुखको निवासमा कांग्रेसका तीनसहित माओवादीका पनि तीन मन्त्रीले सपथ लिँदैछन् । माओवादी केन्द्रले बिहीवार टुंगो लगाए अनुसार कास्कीका रामजी बराल अर्थ, बागलुङका चन्द्र बुढामगर कृषि र स्याङ्जाका दीपक घर्तीले वन तथा वातावरण मन्त्रीको रुपमा सपथ लिनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७