देउवाका निर्देशन : महाधिवेशन भदौमै हुन्छ, तल्लो तहको अधिवेशन तालिका हेरफेर गर्नू


८ श्रावण २०७८, शुक्रबार
deuwa 1

काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय १४ औं महाधिवेशन मिति यथावत राखेर तल्लो तहका अधिवेशन कार्यतालिका हेरफेर गर्न निर्देशन दिएका छन् ।

आज (शुक्रबार) बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा उनले आगामी भदौ १६–१९ सम्म निर्धारित केन्द्रीय महाधिवेशनको मिति हेरफेर नगरी तल्लो तहका अधिवेशनको कार्यतालिका परिमार्जन गर्न निर्देशन दिएका हुन् । बैठकमा सभापति देउवाले केन्द्रीय महाधिवेशनको कार्यतालिका यथावत राखेर अन्य तहका अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्न निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘कुनै हालतमा तोकिएकै समयमा महाधिवेशन हुनुपर्छ । केन्द्रीय महाधिवेशनको मिति हेरफेर नगरी अरु के–के हेरफेर गर्नुपर्छ, गर्न सभापति ज्यूले निर्देशन दिनु भएको छ,’ प्रवक्ता शर्माले भने । शर्माका अनुसार शनिबार बिहान ९ बजे बूढानीलकण्ठमै बस्ने पदाधिकारी र पूर्व पदाधिकारी बैठकले तल्लो तहका अधिवेशनको पूर्व निर्धारित कार्यतालिका परिमार्जन गर्नेछ । कांग्रेसको गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।

उक्त कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ–नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते भनिएको थियो । यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको थियो ।

बैठकमा सहभागी पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले पनि केन्द्रीय महाधिवेशनको मिति हेरफेर नगरी तल्लो तहका अधिवेशन सार्ने विषयमा छलफल भएको जानकारी दिए । ‘केन्द्रलाई असर नपर्ने गरी तल्लो तहका अधिवेशन सार्ने विकल्पबारे छलफल ग¥यौं,’ उनले भने, ‘भोलि बस्ने बैठकमा कार्यतालिका हेरफेर होला ।’

बैठकमा सभापति देउवाले क्रियाशील सदस्यतालाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका नेता–कार्यकर्ताहरुको माग सम्बोधनका लागि पनि निर्देशन दिएका छन् । प्रवक्ता शर्माकाअनुसार धर्ना र अनशनमा बसेका नेता–कार्यकर्तासँग संवादका लागि सह–महामन्त्री डा. प्रकाशशरण महत र पूर्व सह–महामन्त्री डा. रामशरण महत जाने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७