सुजिता मृत्यु प्रकरण : ठूलोबुबाको छोरा पक्राउ


८ श्रावण २०७८, शुक्रबार
Chitwan SP

चितवन, ८ साउन । सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले उनको आफ्नै ठूलो बुबाको छोरालाई पक्राउ गरेको छ । चितवन प्रहरीले आज (शुक्रबार) पत्रकार सम्मलेन गरी घटनाबारे जानकारी दिएको हो ।

मृतक सुजिताको पृष्ठभूमिलगायत अन्य गतिविधिको सुक्ष्म अनुसन्धान गर्ने क्रममा ठूलो बुबाको छोरा सचिन भनिने शुकदेव भण्डारीसँग अनैतिक सम्बन्धले घटना भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार सुजिता पढ्नका लागि काठमाडौंमा ‘दिदीको घर जान्छु’ भनेर गएको र केही दिनपछि शुकदेवलाई अलग्गै कोठा खोज्न लगाई सँगै बसेको अनुसन्धानमा देखिएको प्रहरीको दाबी छ ।

सुजिता पढ्नका लागि काठमाडौं जाने योजना र शुकदेवसँग सँगै बस्ने योजना बनाएको देखिन्छ’, प्रहरी उपरीक्षक अधिकारीले भने । शारीरिक सम्बन्ध भएपछि नैतिक तथा सामाजिक डरले सुजिताले पटक–पटक बिहे गर्न दबाब दिँदै आएको र उनीहरूले विभिन्न विकल्प खोजेको प्रहरीको अनुसन्धानले देखाएको छ । ‘उनीहरूले कि विदेश गएर सँगै बस्ने योजना बनाएको या अपहरणको नाटक गरी कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने योजना बनाएको देखिएको छ’, अधिकारीले भने ।

दुई जनाबीच बिहेको बिषयमा विवाद हुँदा असार ९ गते सुजिताले ‘मर्छु’ भनेर घुर्की देखाएको र शुकदेवले जेसुकै गर भनेपछि उनीहरूबीच त्यो दिनबाट दोहोरो संवाद नभएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

काठमाडौंबाट प्रहरीले असार ७ गते साँझ शुकदेवलाई पक्राउ गरी थप अनुसन्धानको अघि बढाइएको जनाएको छ । चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शुकदेवविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
आफ्नी छोरी सुजितालाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै सुजिताकी आमा अम्बिका भण्डारीले जाहेरी दिएकी छिन । जिल्ला प्रहरी कार्यालय चितवनमा उनले असार ६ गते शुकदेवको नाममा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७