युद्धका सहयात्री बादलसँग विप्लवको भेटवार्ता


९ श्रावण २०७८, शनिबार
Biplav meets ram bahadur thapa

काठमाडौं, ९ साउन । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच शनिबार भेटवार्ता भएको छ ।

पूर्व माओवादी नेता बादललाई भेट्न विप्लव उनको निवासमा पुगेका थिए । भेटमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए । उनीहरुबीच भएको कुराकानीको विषय सार्वजनिक गरिएको छैन । बादल र विप्लव विगतमा सँगै सशस्त्र युद्धमा सहभागी भएका थिए । तत्कालीन नेकपा माओवादीबाट मोहन वैद्य समूह अलग हुँदा बादल र विप्लव दुवैले वैद्यलाई साथ दिएका थिए ।

तर त्यसको एक वर्ष नपुग्दै विप्लवले अर्को पार्टी गठन गरेर गए भने बादल नेकपा माओवादी केन्द्रमा फर्किए । हाल बादलले माओवादी केन्द्र पनि छाडेर नेकपा एमालेमा रहेका छन् ।

विप्लवले आफूसँग संवाद गरेको जानकारी स्वयम् बादलले सामाजिक सञ्जालमार्फत दिएका छन् । विप्लवले एक सातायता भएको राजनीतिक भेटघाटमा फागुन २० गते केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग भएको तीन बुँदे सम्झौता कार्यान्वय र आफ्ना नेता कार्यकर्ताको रिहाइलाई प्रमुखताका साथ उठाइरहेका छन् ।

विप्लवले बादलसँगको भेटमा पनि फागुन २२ गते तत्कालीन ओली सरकारसँगको तीन बुँदे सहमति कार्यान्वयनलाई प्रमुखताका साथ उठाएको बताइएको छ । विप्लवले यसअघि केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड,माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र कमल थापालाई पनि भेटिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७