पहिरोले ट्याङ्की बगाएपछि खानेपानीको हाहाकार


९ श्रावण २०७८, शनिबार
water
फाइल फोटो

तनहुँ, ९ साउन । तनहुँको व्यास नगरपालिका–१४ मा रहेको डुम्रेबेंसी कुलुङ खानेपानी आयोजनाको ट्याङ्की पहिरोले क्षति हुँदा गाउँमा खानेपानी अभाव भएको छ । गत असार १७ गते गएको पहिराले ट्याङ्कीमा क्षति पुगेपछि गाउँमा खानेपानीको अभाव भएको हो ।

पहिराले खानेपानीको ट्याङ्की बगाउनुका साथै अन्य संरचनामा क्षति पुगेको छ । उक्त गाउँमा २० दिनदेखि खानेपानी हाहाकार भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष ताराबहादुर थापाले जानकारी दिए । विसं २०७१ मा नेपाल सरकारको रु ६८ लाखको लगानी र जनश्रमदानबाट खानेपानी आयोजना निर्माण गरिएको थियो ।

पहिराेले ट्याङ्कीको लिफ्टिङमा आवश्यक पर्ने उपकरण र विद्युतीय सामग्री, पानी जम्मा गर्ने इन्टेक, फिल्टर सिस्टम, पानी लिफ्टिङ गर्नका लागि प्रयोग भएको विद्युतीय पोल समेत बगाएको छ । ‘पानीको हाहाकार भएपछि स्थानीयवासी कुवाको पानी प्रयोग गर्न बाध्य भएका छन्’, उनले भने, ‘जसकारण यहाँका स्थानीयवासीको दैनिकीमा पनि परिवर्तन आएको छ ।’

उक्त खानेपानी योजनाबाट ७० घरधुरीले पानी प्रयोग गर्दै आएका छन् । उनका अनुसार खानेपानीका समस्या भएपछि कुवामा पानी लिन जानुपर्छ, यसले गर्दा खानेपानीको जोहो गर्दैमा दिन बित्ने गरेको छ ।

व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले खानेपानी मर्मतका लागि पहल थालिएको जानकारी दिए । ‘खानेपानी योजनामा पहिरोका कारण ठूलो क्षति भएको छ, जनतालाई खानेपानीको व्यवस्था गर्नका लागि तत्काल वडा कार्यालयबाट रु दुई लाख ५० हजार र व्यास नगरपालिकाबाट रु पाँच लाख विनियोजन भइसकेको छ’ श्रेष्ठले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७