प्रचण्डलाई भीम रावलको जवाफ : राजीनामा दिएर म ढलेको होइन


१० श्रावण २०७८, आईतवार
prachanda bhim rawal1627147768

काठमाडौं, १० साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर आफू स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार एउटा कार्यक्रममा आफ्नो राजीनामालाई ‘पाँच दलको गठबन्धन फुटाउने खेल’ भनेको भन्दै उनले आपत्ति जनाएका हुन् । शनिबारै राति सामाजिक सञ्जालमार्फत रावलले प्रचण्डको उक्त भनाइलाई ‘हाँस्यास्पद र मनगढन्त’ भनेका छन् ।

उनले चार वटा बुँदामार्फत आफ्ना कुरा राखेका छन् । उनले दोस्रो बुँदामा भनेका छन्, ‘प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा (एमाले) लाई ढाल्ने षड्यन्त्रकाविरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ । एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग करा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो ?’

उनले तेस्रो बुँदामा प्रचण्डलाई आफूहरुले जस्तै ‘त्याग गर्न तयार हुनुहुन्थ्यो ?’ भन्दै प्रश्न गरेका छन् । ‘हामीले सांसद पद मात्र होइन, राजनीतिक भविष्यसमेत दाउमा राखेर प्रतिनिधिसभाको पुनः स्थापना र देउवाजीलाई प्रम बनाउन योगदान पुर्‍यायौं । हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्डजी हाम्रो जस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो ?’

आफूले स्वस्थ राजनीति र पार्टी एकताको पक्षपोषण गर्दा त्यसलाई नेताहरुबीच फाटो ल्याउने काम ठान्नु विग्रहकारी चिन्तन भएको उनको भनाइ छ । पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलन कसैको भलो नहुने उनले स्पष्ट पारेका छन् । उनले राजीनामा फिर्ता लिइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७