सात बुँदे मागसहित यातायात व्यवसायीहरुले सरकारलाई बुझाए साँचो


१० श्रावण २०७८, आईतवार
y11627197253

काठमाठौं, १० साउन । आफ्ना विभिन्न सात बुँदे माग सम्बोधन गर्न दबाब दिँदै आएका यातायात व्यवसायीहरुले आज (आइतबार) सरकारलाई सार्वजनिक सवारी साधनको साँचो बुझाएका छन् ।

कोभिड खोपको उचित व्यवस्था गर्नुपर्ने, भाडा समायोजन गर्नुपर्ने लगायतका ७ बुँदे माग राखेर आन्दोलन गर्दै आएका यातायात व्यवसायीहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्वजनिक सवारी साधनको साँचो बुझाएका हुन् ।

jam

आइतबार मध्यान्ह माइतीघर मण्डलामा भेला भएका व्यवसायीहरुले बबरमहलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पुगेर प्रधानमन्त्री देउवा समक्ष पुर्‍याउने गरी सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका हुन् ।

कोरोनाका कारण यातायात व्यवसायीहरुले भोग्नु परेको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिन प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री देउवालाई सार्वजनिक यातायातको साधनको साँचो बुझाउनु परेको सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका अध्यक्ष होमप्रसाद अधिकारीले जानकारी दिए । उनले आफूहरुको माग अब पनि सरकारले सम्बोधन नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले पनि यातायात व्यवसायीहरुले आफ्ना माग सम्बोधन गर्न दबाब दिने गरी बुझाएको सार्वजनिक सवारी साधनको साँचो गृह मन्त्रालयमार्फत् तत्काल प्रधानमन्त्री देउवालाई बुझाउने प्रतिबद्धता व्यक्त गरे । उनले कोभिड संकट बढेर जाने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न यातायात व्यवसायीहरुलाई आग्रह पनि गरे ।

यातायात व्यवसायीहरुले गत असार २४ गतेदेखि आफूहरुको लागि कोभिड खोपको आवश्यक व्यवस्था मिलाउनुपर्ने, भाडा समायोजना गर्नुपर्ने, मौद्रिक नीतिमा व्यवसायीको समस्या सम्बोधन गर्नुपर्ने, यातायातको बिमा, नविकरण र जरिवानामा छुट गर्नुपर्ने, सडक कानुन तत्काल कार्यान्वयन गर्नुपर्नेलगायतका ७ बुँदे माग सम्बोधन गर्न आन्दोलन गर्दै आएका छन् । आफूहरुको माग अब पनि सम्बोधन नभए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने उनीहरुको चेतावनी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७