माधव समूहलाई ओलीले भने–भविष्य ध्वस्त नपार्नुस्, फर्किनुस् पार्टीले क्षमा गर्छ

‘प्रतिगमन गम्भिर अवस्थामा पुगिसक्यो’


१० श्रावण २०७८, आईतवार
kp oli

काठमाठौं, १० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहलाई राजनीतिक भविष्यलाई सम्झिएर पार्टीमा फर्किन आग्रह गरेका छन् । आज (आइतबार) अखिल नेपाल महिला संघको भर्चुअल कार्यक्रममा उनले पार्टीले क्षमा गर्ने भन्दै फर्किन आग्रह गरेका हुन् । ‘पार्टीले क्षमा गर्छ । साथीहरु गल्ती नगर्नुस् । पार्टीमा फर्किनुस्’, ओलीले भने ।

केही व्यक्तिहरु प्रतिक्रियावादीसँग मिलेर पार्टी फुटाउने काममा लागिपरेको आरोप उनले लगाए । ‘केही व्यक्तिहरु आफ्ना स्वार्थका कारणले प्रतिक्रियावादीहरुको जालझेलको अंग बनेर, प्रतिक्रियावादीसँग भित्री साँठगाँठ गरेर, पार्टी ढाल्ने, सरकार ढाल्ने खेलमा सामेल भएको हामीले देखिरहेका छौं । प्रतिक्रियावादीसँग मिलेर सरकार ढालिरहेको देखेका छौं । आफ्नो पार्टी फुटाएर सजिलो बनाएको देखिरहेका छौं । आफ्ना सांसदलाई झुक्याएर वा प्रलोभनमा पारेर बाहिर लगेको देखिरहेका छौं’, उनले भने ।

ओलीले विरोधीका पछि लागेर आफ्नो भविष्य ध्वस्त पार्ने र आन्दोलनको भविष्य कमजोर किन पार्ने ? भन्दै प्रश्न गरे । उनले देश धेरै अप्ठ्यारो मोडमा पुगेको जिकिर पनि गरे । ओलीले पार्टीको पक्षमा उभिन आग्रह गरे । पार्टीविरोधी चक्रव्यूबाट बाहिर निस्कन अनुरोध गरे ।
‘पार्टीको पक्षमा उभिनुस् । देशले तपाईंहरुको स्वागत गर्छ । पार्टीले स्वागत गर्छ’, ओलीले भने । अहिलेसम्म भ्रममा रहेकालाई फर्किएर आउन उनले आग्रह गरे । उनले प्रतिगमन सच्चिन धेरै समय लाग्ने पनि बताए । उनले प्रतिगमन गम्भिर अवस्थामा पुगिसकेको समेत बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७