‘हेड काउण्ट’ हुने भएपछि उपेन्द्र पक्षीय कार्यकारिणी सदस्यलाई राखियो रिसोर्टमा


१० श्रावण २०७८, आईतवार
baburam upendra

काठमाठौं, १० साउन । पार्टीको आधिकारिकता विवाद निरुपणको समय नजिकिएसँगै जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिका सदस्यलाई रिसोर्टमा राखिएको छ ।

निर्वाचन आयोगले जसपाको आधिकारितासम्बन्धी विवाद छिनोफानो गर्न सोमबार ‘हेड काउण्ट’ को आधारमा निर्णय सुनाउने भएपछि यादव पक्षीय कार्यकारिणी सदस्यलाई रिसोर्टमा राखिएको हो ।

ललितपुरको गोदावरीस्थित रिसोर्टमा ३२ कार्यकारिणी सदस्य रहेको बताइएको छ । पार्टीका नेता इस्तियाक राईले गोदावरीमा कार्यकारिणी सदस्यसँग छलफल भइरहेको जानकारी दिएका छन् । उनले प्रशिक्षणसहित समसामयिक विषयमा छलफलको उद्देश्यका साथ रिसोर्टमा बसिएको दावी गरे ।

यही बीच आयोगको निर्णयविरुद्ध जसपाको महन्थ ठाकुर पक्ष भने सर्वोच्च अदालत पुगेको छ । ठाकुरका लागि अन्तिम आशा–भरोसा सर्वोच्च अदालत बनेको छ । अब जसपामा रहने वा नरहने सर्वोच्च अदालतको आदेशमा भर पर्ने अध्यक्ष ठाकुरले बताएका छन् ।
निर्वाचन आयोगले विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएकोमा बिहीबारको इजलासले ११ साउनका लागि निवेदक पक्ष र विपक्षीलाई आयोगमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यसहित हाजिर हुन आदेश दिएको थियो ।

जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७