जसपा विवाद : कार्यकारिणी सदस्यलाई बोलाएर आयोगले आज सनाखत गराउँदै


११ श्रावण २०७८, सोमबार
jasapa neta

काठमाडौं, ११ साउन । पार्टीको आधिकारिकता टुङ्गो लगाउन निर्वाचन आयोगमा आज (सोमबार) जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी सदस्यहरुको सनाखत ‘हेड काउन्ट’ गर्दैछ ।

जसपामा जारी आधिकारिकतासम्बन्धी विवादमा फैसला दिन निर्वाचन आयोगले आज जसपाका सांसद र कार्यकारिणी समिति सदस्यको सनाखत गराउन लागेको हो । त्यसका लागि नेताहरुलाई सशरीर उपस्थित हुन निर्वाचन आयोगले आदेश दिएको छ । आफ्नो पक्षमा बहुमत सदस्यको उपस्थिति देखाउन जसपाका दुबै खेमा यतिबेला अन्तिम कसरत गरिरहेका छन् । त्यसका लागि अध्यक्ष उपेन्द्र यादव पक्षीय नेताहरू आइतबार साँझदेखि नै गोदावरी रिसोर्टमा जम्मा भएर बसेका छन् ।

अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले प्रलोभन देखाएर आफू पक्षीय सदस्यलाई तान्न सक्ने भन्दै यादव पक्षले आफ्ना सदस्यलाई रिसोर्टमा राखेको हो । रिसोर्टबाट आज सिधै निर्वाचन आयोगमा जाने तयारी यादव पक्षले गरेको छ । आयोगले आजै जसपाका सांसद र कार्यकारिणी सदस्यको ‘हेड काउन्ट’ गरेर बहुमत रहेको पक्षलाई आधिकारिकता दिने अनुमान गरिएको छ ।

पछिल्लो समय जसपाको संसदीय दल र कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षको स्पष्ट बहुमत देखिँदै आएको छ । गोदावरी रिसोर्टमा पनि संसदीय दल र कार्यकारिणी समितिका बहुमत सदस्यको उपस्थिति छ ।

गोदावरी रिसोर्टमा केन्द्रीय कार्यकारिणी समितिका ३३ जना र संसदीय दलका २१ जनको उपस्थिति रहेको उपेन्द्र यादव पक्षीय नेता मोहम्मद इस्तियाक राईले जानकारी दिएका छन् । उनीहरुलाई अध्यक्ष यादव र पार्टीको संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रशिक्षण दिने भन्दै त्यहाँ लगिएको हो ।

ठाकुर पक्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि जसपामा विवाद तीव्र बनेको थियो । शुरुदेखि नै कांग्रेस, माओवादी गठबन्धनमा सहभागी यादव पक्षले भने कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएको थियो । निर्वाचन आयोगबाट आधिकारिकता विवाद टुंगो लागेपछि यादव पक्ष सरकारमा जाने तयारीमा छ ।

निर्वाचन आयोगले पार्टीको कार्यकारिणी समितिको विवाद निरुपण नगरी बहुमत र अल्पमतको परीक्षण गर्न लागेको भन्दै ठाकुरले असन्तुष्टि जनाउँदै आएको छ । ठाकुर पक्षले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको थियो ।

तर सर्वोच्चले ठाकुर पक्षको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यसबाट अध्यक्ष यादव पक्षलाई निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिने सम्भावना बढेको अनुमान गर्न थालिएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच २०७७ वैशाख ११ गते एकीकरण भएर जसपा बनेको हो । २४ असार २०७४ मा निर्वाचन आयोगमा जसपा दर्ता भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७